बाग्मती

जनप्रतिनिधिका लागि सञ्चालित तीनदिने तालीम सम्पन्न

भक्तपुर । सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधिहरुलाई तीनदिने भूकम्पपछिको पुनः निर्माण र स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी तालीम प्रदान गरिएको छ ।

राष्ट्र निर्माण मञ्च नेपालद्वारा आयोजित तीनदिने सो तालिम आज समापनका अबसरमा न्यायाधीश बामदेव ज्ञवालीले स्थानीय तहमा कानून निर्माणका प्रक्रिया, त्यसको नमूना अभ्यासबारे जानकारी गराए ।

यसअघि अधिवक्ता टीकाराम भट्टराईले ‘देवानी (संहिता) र कार्यविधि (संहिता) ऐन (२०७४)’, अधिवक्ता अनिलकुमार श्रेष्ठले ‘स्थानीय सरकार सञ्चालन विधिसम्बन्धी कानूनी व्यवस्था’ र अधिवक्ता रामकृष्ण काफ्लेले ‘मेलमिलाप चरण, कानूनी व्यवस्था र नमूना अभ्यास’बारे प्रशिक्षण दिएको मञ्चका अध्यक्ष निर्मलकुमार उप्रेतीले बताए ।

यसैगरी राष्ट्रिय पुनः निर्माण प्राधिकरणका शाखा अधिकृत लालबहादुर बस्नेतले ‘भूकम्प प्रभावित संरचनाको पुनः निर्माणसम्बन्धी ऐन, नियमावली र कार्यविधि’बारे जनप्रतिनिधिलाई जानकारी गराएका थिए ।

यस्तै अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले ‘संघीय शासनमा नेपालको न्यायिक संरचना र न्यायिक समितिको क्षेत्राधिकार’, अधिवक्ता वसन्त आचार्यले ‘स्थानीय कानून तर्जुमा र न्यायिक समितिको विवाद निरुपण प्रक्रिया र नमूना अभ्यास’ एवम् चार्टर एकाउण्टेण्ट विश्वराज बसौलाले ‘स्थानीय तहको आम्दानी, कर प्रणाली, एकीकृत सम्पति कर, मूल्याङ्कन विधि र व्यवस्थापन’बारे प्रशिक्षण दिए ।

यसैगरी तालीममा संघीय मामिला, तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपाल, सामाजिक अभियानकर्मी विष्णुबहादुर खत्रीले जनप्रतिनिधिको नेतृत्व विकासबारे जानकारी दिए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख, दुईवटै नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर समिति सदस्य, वडा सदस्यलगायत ४५ जनाको सहभागिता थियो । मञ्चका अध्यक्ष उप्रेतीले जनतालाई न्यायमा पहुँच अभिवृद्घिका लागि विभिन्न जिल्लामो परियोजना सञ्चालन गर्दै आएको बताए ।