लुम्बिनी

प्रदेश नं ५ : तीन विधेयक सर्वसम्मतिले पारित

बुटवल । प्रदेश नं ५ मा आज बसेको प्रदेशसभाको बैठकले तीन विधेयक सर्व–सम्मतिले पारित गरेको छ । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक, प्रदेश नं ५ अन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन २०७५ संशोधन गर्न बनेको विधेयक सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको घोषणा गरे ।

यसअघि तीन वटै विधेयक प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।  विधेयकका विषयमा प्रदेशसभाका सदस्य चेतनारायण आचार्य, रमा अर्याल, कमलराज श्रेष्ठ, कुलप्रसाद पोखरेल लगायतले आ–आफ्नो धारणा व्यक्त गरे । प्रदेशसभाका सदस्यले राखेको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीले स्थानीय तहमा रहेको कानून निर्माणको अपूर्णतालाई पूर्णता दिइएको बताए ।