मनोरञ्जन

गायक लामिछानेका घरमा कवितासंग्रह विमोचित

भक्तपुर । साहित्यकार रघुराम न्यौपानेको कवितासंग्रह ‘यो शहर’ आज सार्वजनिक गरिएको छ । चाँगुनारायण नगरपालिका –७ वागेश्वरी चारघर चौतारामा रहेको लोकगायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट कविता संग्रह विमोचन गरिएको हो । लामिछाने तीन वर्षदेखि पक्षाघात र अन्य रोगबाट ओछ्यानमै थलिएका छन् ।
उनले गीत, संगीत र साहित्य कहिल्यै मर्न नहुने बताउँदै यसको विकासमा सबैलाई लाग्न आग्रह गरे । कार्यक्रममा साहित्यकार न्यौपानेले यसअघिका कृति बिक्रीबाट संकलित रकममध्ये रु १० हजार लामिछानेको स्वास्थ्योपचारका लागि प्रदान गर्दै सरकारलाई उनको उपचारका लागि उचित व्यवस्था गरिदिन आग्रह गरे ।
गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्ईँले उनको घरको अवस्था र स्वास्थ्यावस्था देखेर आफूलाई मर्माहित बनाएको बताउँदै उनको उचित व्यवस्थापनमा सरकारको ध्यान नपुगेकामा दुःख व्यक्त गरे । क्रियाशील पत्रकार मञ्च भक्तपुरका अध्यक्ष रमेश गिरीले लामिछानेलाई स्रष्टाले पनि सहयोग गर्नुपर्ने औँल्याए ।