प्रदेश 1

अन्तर्राष्ट्रिय युवा दिवस

इटहरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताए ।

उन्नाइस औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा समितिले आज इटहरीमा आयोजना गरेको ‘प्रादेशिक युवा नीति तथा ऐन निर्माण तथा अधिकार र भूमिका’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताए।

प्रदेश सांसद सर्वध्वज सावाँ नेकपाका सुनसरी जिल्ला अध्यक्ष रमेश बस्नेत रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीलगायतले युवाहरुको चाहनाअनुसारका नीति र कानून बनाएर कार्यान्वयन गर्न सकियो भने मात्र राष्ट्र समृद्ध हुने चर्चा गरे ।

युवा नेता अरुण खड्काले उक्त विषयमा प्रस्तुत गरे कार्यपत्रमाथि अधिवक्ताद्वय वीरेन्द्र बस्तेत र किशोर कार्कीले टिप्पणी गरेका थिए । सोही अवसरमा मन्त्री कार्कीलाई युवाहरुले तयार पारेको युवा नीतिसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको थियो ।