राजनीति

आधा घण्टा हिन्दीमा भाषण गर्दै तराईबासीलाई अध्यक्ष दाहालले भनेः ये संविधानको हमने कभी पूर्ण नही माना है

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान पूर्ण नभएको बताएका छन् । बाराको कलैयाको एक सडकको आइतबार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

सडकको सिलान्यासपछि कलैया उपमहानगरबासीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले स्थानिय विकास, निर्माण र जनताका हकअधिकार बारे बोलेका थिए ।

संविधान संशोधनको प्रसङ्गबारे बोल्दैँ उनले वर्तमान संविधान पूर्ण नभएकाले तराईबासीहरुको मुद्वालाई समेत समेटेर सर्वमान्य बनाईने बताए । ‘ये संविधानको हमने कभी पूर्ण नही माना है, संविधान एक गतिशिल दास्तावेज हे इसलिय ये समय सान्दर्भिक रुप मे संशोधन हो सक्ता है, उनले भने, मे और प्रधानमन्त्री केपी शर्मा ओली और फोरमके नेता उपेन्द्र यादव जी के बीचमे राजनीतिक सहमती हुई है ।’

दाहालले आफूले प्रधानमन्त्री र अन्य तराईमधेश केन्द्रित दलहरुसँग यहाँका जनतको अधिकारलाई संविधानमा सम्बोधन गर्न राजनीतिक सहमती गरेको दाबी गरेका छन् । उक्त सहमतीअनुसार तराईमधेश आन्दोलनलाई सम्मान गर्दैं संविधान संशोधनमार्फत यसलाई सर्वमान्य बनाईनेछ ।

संविधान गतिशिल दस्तावेज भएकाले यसलाई समयसापेक्ष जनता र राष्ट्रका हितमा संशोधन गर्न सकिने अध्यक्ष दाहालको भनाई थियो । उनले करिब आधा घण्टा हिन्दीमै भाषण गरेका थिए ।