अन्तर्राष्ट्रिय

तीन जना नेटो सैनिक मारिए

काबुल । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणमा परी तीन जना नेटो सैनिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा अमेरिकी सैनिक र दुई जना अफगान सेना घाइते भएका छन् ।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) द्वारा जारी विज्ञप्तिमा पूर्वी अफगानिस्तानमा गस्तीमा रहेका सैनिकलाई लक्षित गरिएको जनाइएको छ ।

“अफगानी सेनासँगै गस्तीमा रहेका नेटो सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा तीन नेटो सैनिकको मृत्यु भएको छ,” नेटोको विज्ञप्तिमा भनिएको छ ।

काबुलबाट करिब ६० किलोमिटर टाढा रहेको परवान प्रान्तको चारिकार सहरमा स्थानीय समयअनुसार बिहानै ६ बजे उक्त घटना भएको हो । मारिएका सैनिक कुन देशका हुन् भन्ने खुलाइएको छैन ।

अफगानी बिद्रोही समूह तालिबानले विज्ञप्ति प्रकाशन गरी घटनाको जिम्मेबारी लिएको छ ।

अमेरिकी नेतृत्वको नेटो सैन्यले सन् २०१४ मा अफगानिस्तानमा प्रत्यक्ष लडाइँका सम्पूर्ण कार्यक्रम समाप्त गर्नुका साथै ठूलो संख्यामा सैनिक फिर्ता लगेको थियो । तर अझै पनि तालिम र प्रतिआतङ्कवादी कार्यक्रमका लागि १६,००० सैनिक अफगानिस्तानमा तैनाथ छन् ।

नेटोका अनुसार, गत महिना दक्षिणी अफगानिस्तानमा भएको आक्रमणमा एक जना अमेरिकी सैनिक मारिनुका साथै दुई जना घाइते भएका थिए ।