कृषि

९३ प्रतिशत धान रोपाइँ

फलेवास, पर्वत । जिल्लामा अहिलेसम्म ९३ प्रतिशत धान रोपाइँ सकिएको छ । सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

यस वर्ष समयमै वर्षा शुरु भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा नहर भत्किँदा झण्डै २०० रोपनी खेतमा धान रोपाइँ हुन सकेको छैन । फलेवासमा सडक निर्माणले नहर पुरिँदा रोपाइँ हुन सकेको छैन ।

कुश्मा नगरपालिकाका खौलालाकुरी, ठूलीपोखरी, पकुवा, दुर्लुङ, पिपलटारी र आर्थर, फलेवास नगरपालिकाका कार्कीनेटा, शंकरपोखरी, थापाठाना र भँगरा तथा मोदी गाउँपालिकाका देउपुर, देउराली, बाजुङ लगायतका स्थानमा असारमै रोपाइँ सकिएको थियो । महाशिला, पैँयु र विहादी गाउँपालिकाका खाली जमीनमा पनि समयमै रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिनमध्ये बाह्रै महिना सिँचाइ सुविधा पुगेको झण्डै सात हजार हेक्टर जमिन छ ।

सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर तथा कम उत्पादन हुने बनौँमा चार हेक्टर जमिन रहेको छ । जिल्लामा छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको कृषि कार्यालयले जनाएको छ ।