पर्यटन/संस्कृति

सिद्धनाथ महादेव मन्दिरः कटानको चपेटामा

बर्दिवास । महोत्तरी जिल्लाको अति प्राचीन धार्मिकस्थल भङ्गहा नगरपालिका–५, सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा परेको छ ।
रातु र बडहरी नदीको सङ्गमस्थित ३०० वर्ष पहिले पत्ता लागेको मन्दिर अहिले वर्षेनी नदी कटानले सङ्कटमा छ । नदी किनारको २० बिघाभन्दा बढीको चौरमाझमा रहेको सो मन्दिर अब वर्षेनीको कटानले नदीको डिलमा पुगेको छ । मन्दिर परिसरमै नदीको पानी बग्न थालेपछि अब जुनसुकै बेला मन्दिर ढल्ने स्थिति बनेको सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता शङ्कर साहले चिन्ता व्यक्त गरे ।

रातु र बडहरी नदीमा आउने बर्खे भेलले मन्दिरको उत्तर र पश्चिम डिल ढालिसकेको छ । पूर्व र दक्षिणतर्फको मन्दिर परिसरको चौर अतिक्रमण गरिएपछि अब मन्दिर सानो कोप्चामा ठिङ्ग उभिएको देखिन्छ । नदी नियन्त्रणका लागि तटबन्ध नबन्दा मन्दिर अब ढल्ने स्थितिमा पुगेको मन्दिर नजीकैको अर्को बस्ती पलारका ७५ वर्षीय चौठी बाँतरले गुनासो गरे ।

कुनै बेला एक दुधारीबाबा नाउँका साधुले सपनामा पाएको सन्देशअनुसार खोजी गर्दै जाँदा घना जंगलबीच शिवलिङ्ग फेला पारेर सिद्धनाथ महादेव नामकरण गरिएको यहाँका बूढापाका बताउँछन् । “दुधारीबाबाले पत्ता लगाएर प्रतिष्ठा गरेपछि यो मन्दिरमा सर्वसाधारणले पूजाआराधना शुरु गरेको हाम्रा बाजेले बताएका हुन्”, आपूm सानो छँदा बाजेले मन्दिरबारे बताएको सम्झँदै पूर्वप्रशासक भङ्गहा–३ का ८० वर्षीय तेजनारायणसिंह थारूले भने, “यो प्राचीन धार्मिक धरोहरको अहिलेको बिजोग हेर्दा मन अड्याउने ठाउँ देखिन्न ।”

जिल्लाकै अति प्राचीन यस मन्दिरका लागि विगतमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, तत्कालीन जिविस र भङ्गाहा गाविस (हाल नगरपालिका) ले बेलाबेलामा योजना बनाएको बताए पनि ठाउँठाउँमा बालुवा थुपार्ने बाहेक केही नगरेको सिद्धपुरका बासिन्दाको रोष छ । हुँदाहुँदा अब त सबैतिरको बेवास्ताले मन्दिर नरहने स्थितिमा पुगेको सिद्धपुरका ३५ वर्षीय विनोद मण्डलले चिन्ता व्यक्त गरे ।

महाशिवरात्रि र साउनभरी यहाँ लाग्ने धार्मिक मेलाको ठेक्का लगाएर नगरपालिकाले आम्दानी राख्ने गरे पनि टाढाटाढाबाट आउने श्रद्धालु दर्शनार्थीका लागि खानेपानी, बासस्थान (धर्मशाला( र प्राथमिक उपचारसम्मको कुनै व्यवस्था नगरिएको सिद्धपुरका बासिन्दाको भनाइ छ । “अब त एउटा सानोतिनो बाढीले नै मन्दिरको पर्खाल ढाल्छ”, मन्दिरको नियमित पूजाआजा गर्दै आएका पुजारी कूलका सन्तोष झाले भने, “बचाउका उपाय भने केही चालिएका छैनन्, देख्दादेख्दै यो आस्थाको धरोहर ढल्ने भयो ।”

नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह भने यस आर्थिक वर्षभित्रै ९२०७५/७६० नदी नियन्त्रण र मन्दिर परिसरमा धर्मशाला निर्माण गरिने बताउँछन् । “पुराना कुरा भनेर समय खेर फाल्नु छैन”, साहले भने, “यसपालि मन्दिर परिसरमा १० लाखको लागतमा दुईकोठे धर्मशाला बनाइन्छ, त्यस्तै धतियाटोलदेखि मन्दिर अवस्थित बडहरि र रातुको दोभानसम्म बन्दिलो (तारजालीसहितको बाँध) तटबन्ध बनाइने छ ।”

यसका लागि नगरपालिकाले रु ५० लाख विनियोजन गरेको प्रमुख साहको भनाइ छ । अहिले नगरपालिकाले नयाँ निर्णयबारे बताए पनि काम अघि नबढेपछि स्थानीयवासीले भने काम हुने पत्याएका छैनन् । “कुरा त विगतदेखि नै सुन्दै आएका हौँ नि ।”, सिद्धपुर बस्तीका सामाजिक कार्यकर्ता बेचन मण्डलले भने, “काम गरेर देखाए भने बल्ल गरेछन् भनौँला ।”