साहित्य

नुवाकोटमा सुनिए सुदेश र देवकी

नुवाकोट ।

हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ?
आमा बेच्नु प¥यो भने यदि कतै लौ मूल्य तोक्छौ कति
कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ?
खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन ।

‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा शनिबार आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै थिए ।

दश कविता प्रस्तुत गर्नुभएका सत्याल यहाँका साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल भए । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ कवितामा प्रस्तुत गरेका थिए । ‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’ जस्ता शब्द बान्की समेटेको कवितामा सिरियाको युद्ध रोक्नका लागि गरिएको आह्वानमा युद्धाको पीडा सुनेर साहित्यप्रेमी भावुक बनेका थिए ।

कविले ‘सस्तो भयो जीवन’, ‘सधैँ भइरहूँ म तिम्रो सहारा’, ‘दार्जिलिङमाथि एउटा कविता’ ‘ताली नमार्नू अब’, ‘नेपाल बन्द छ’ लगायत कविता वाचन गरेका थिए । दुई प्रेमिल गजलले पनि दर्शकलाई मोहित पार्न सफल भए । सत्यालले आफ्नो चर्चित कविता ‘फर्केर आऊ घर’ वाचन गरी आफ्नो प्रस्तुतिलाई बिसाएका थिए ।

‘नुवाकोट पर्यटन प्रवद्र्धनका लागि’ नारासहित नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको कन्सर्टमा अर्का प्रतिभा देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गरेका थिए। कवि अभिलाषीले ‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’लगायत कवितामा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्मलाई रचनामा समेटेका थिए।

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले साहित्य श्रीवृद्धिका लागि यस्ता कार्यक्रम जिल्लामा निरन्तर हुनुपर्ने बताए । कार्यक्रममा सहभागी कवि राजकुमार पुत्लाले कन्सर्टमा दुवै स्र्रष्टाको दमदार प्रस्तुतिले मन छोएको बताए । पर्यटन विकास तथा प्रवद्र्धनमा साहित्यको भूमिका धेरै रहने भएकाले जिल्लाको पर्यटन प्रवद्र्धन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताए ।