समाचार

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

रत्ननगर । विभिन्न स्थानमा पहिरो खसेर अवरुद्ध बनेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज साँझ ५ः३० बजेबाट दुईतर्फी नै सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ घुमाउने र इच्छाकामना गाउँपालिका– ६ स्थित जलवीरेमा खसेको पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालन भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घुमाउनेमा बिहान ६ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको सडक १०ः३० बजेबाट एकतर्फी सञ्चालनमा आएको थियो । गाडीको चाप अत्यधिक भएपछि बीचमा अड्किएको गाडी पठाएर पुनः गाडी रोकी पहिरो पन्छाएपछि दिउँसो सो स्थानमा २ः४५ बजे सडक खुलाइए पनि जलवीरेमा पुनः पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो ।

इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा २ः५५ बजे खसेको पहिरो हटाएर साँझ ५ः३० बजेबाट भने दुईतर्फी नै सडक खुलाइएको प्रहरीले जनाएको छ । अहिले बिहानदेखि रोकिएका सवारीहरु गन्तव्यतर्फ गइरहेको छ । यो वर्षातमा नारायणगढ–मुग्लिन सडकमा पटक पटक पहिरा खस्दा यात्रु प्रभावित हुँदै आएका छन् ।