समाचार

मुलुकी देवानी र अपराध संहिता ऐन उपयुक्त

काठमाडौँ । मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐन सरल र सामाजिक न्यायका लागि उपयुक्त रहेको बताइएको छ ।

उक्त ऐन आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो ।

ती ऐनका बारेमा लेखापढी कानून व्यवसायीलाई जानकारी दिने उद्देश्यले नेपाल बार एशोसिएशन र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी वक्ताले सबै नागरिकमा सर्वसुलभ कानूनको पहुँच पु¥याउन पछिल्ला ऐन उपयोगी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल बार एशोसिएशनका महासचिव खम्मबहादुर खाँतीले अपराधीलाई सजाय दिन र निरपराधीलाई संरक्षण गर्न यो ऐन महत्वपूर्ण रहेको बताए ।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका अध्यक्ष सीताराम दाहालले छिट्टै कार्यान्वयनमा ल्याउन लागेको यो नयाँ ऐन बारे लेखापढी व्यवसायीलाई जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

अधिवक्ता सुनिल पोखरेल, श्रीकृष्ण भण्डारीलगायतले मुलुकी फौजदारी कार्यविधि, तारिख, वारिस, प्रमाण परीक्षण, सजाय, जरिवाना, क्षतिपूर्तिसम्बन्धी व्यवस्था, करणीसम्बन्धी कसुर, करार तथा अन्य दायित्वको व्यवस्था, मुलुकी देवानी कार्यविधि, मुलुकी अपराधजस्ता विषयलाई समयसापेक्ष रुपमा ऐनमा समावेश गरिएको बताए ।

अधिवक्ता सानुमैया महर्जन, लेखापढी कानून व्यवसायीद्वय तेज ढकाल र कृष्णप्रसाद दाहालले मुलुकको परिवर्तित संरचनामा सबैलाई सामाजिक न्याय उपलब्ध गराउन यो ऐनको व्यवहारिक कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।