अन्तर्राष्ट्रिय

भ्रष्टाचार गरेको आरोप पूर्वराष्ट्रपति पक्राउ

ग्वाटेमाला । ग्वाटेमालाका पूर्वराष्ट्रपति एल्भारो कोलोमलाई शुक्रबार पक्राउ गरिएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा उनलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

हड्डीको दुखाइसम्वन्धी समस्याबाट पीडित हुनु भएका कोलोमलाई शुक्रबार राती पक्राउ गरिएको हो । उनी अहिले ६६ वर्षका भए ।

उनलाई गत फेब्रुअरीमै भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो । सेनाको नियन्त्रणमा रहेको कारागारमा उहाँलाई राखिएको छ ।

उनसँगै सन् २००८ देखि २०१२ सम्म सरकारमा रहेका अन्य दश जनालाई पनि उही आरोप लगाइएको छ ।

उनीहरुलाई पक्राउ गरेर कारागारमा राखिएकोमा अधिकांशलाई जमानतमा रिहा गरिएको अधिकारीले बताएका छन् । उनीहरुलाई भने गत फेब्रुअरीमै पक्राउ गरिएको थियो ।

कोलोमसँगै एउटै मुद्दामा पक्राउ पर्नेमध्ये एक जना पूर्वअर्थमन्त्री जोन आल्बेर्टो फोन्टेस नाइट र अक्सफाम इन्टरनेशनलका अध्यक्ष पनि हुन् ।

सार्वजनिक श्रोत, साधन र सम्पत्तिको दुरुपयोग गरेको अभियोग लागेका उनीहरु सबैको अनुसन्धान भइरहेको बताइएको छ ।