प्रवास

मृगौलापीडित महिलालाई प्रवासीको सहयोग

काठमाडौं । दुवै मृगौला काम नलाग्ने भएर पीडित बनेकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

स्थानीय कुश्मा नगरपालिका– ३ दुर्लुङकी पीडित महिला अमृता शर्मालाई हङकङ बेलायतमा रहेका प्रवासीका साथै नेपालमै रहेका केही व्यक्तिले रू दुईलाख ५५ हजार संकलन गरी शुक्रबार पीडित महिलाको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

अहिलेसम्म दुर्लुङ समाज यूकेबाट रु एक लाख १७ हजार ६०० र दुर्लुङ सम्पर्क समाज हङकङबाट रु एक लाख २७९ हजार, पूर्वमन्त्री क्षेत्रबहादुर गुरुङबाट रु सात हजार, बिहादी गाउँपालिका बाच्छा निवासी (हाल साउदी) सुमन सिलवालबाट रु २० हजार, रामबहादुर गुरुङबाट रु १० हजार सहयोग प्राप्त भएको छ ।

विपन्न परिवारकी शर्माको अहिले पोखरामा रहेको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

अमृताको परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेकाले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलको पहलमा दुर्लुङ समाज युके र दुर्लुङ सम्पर्क समाज हङकङले एक अभियान सञ्चालन गरेर रकम संकलन गरेका थिए ।