समाचार

प्रहरी भन्छः ठमेलमा हुने गतिविधी नियन्त्रण गर्न हामी एक्लैँ सक्दैनौ

काठमाडौँ । विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताए ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेल क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न प्रहरीले सोचेजस्तो काम गर्न नसकेको बताए । “नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधि हातेमालो गरेर अगाडि बढ्नुपर्छ,”–उनले भने ।

काठमाडौँ महानगरपालिका– १७ का अध्यक्ष नवीन मानन्धरले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने बताए ।

महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको बताए ।

लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चारजनालाई पक्राउ, रु २० लाखसहित एक हुण्डी कारोबारी पक्राउ, विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ, मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको वृत्तप्रमुख केसीले जानकारी दिए ।