सूचना प्रविधि

आचारसंहिता पालना गर्नु पत्रकारको पहिलो दायित्व

बागलुङ । पत्रकार आचारसंहिता पालना गर्नु पत्रकारको पहिलो दायित्व भएको बताइएको छ । नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित पत्रकार आचारसंहितासम्बन्धी कार्यक्रममा पत्रकारिता क्षेत्रका अगुवाले पत्रकारले आचारसंहितालाई मन्त्रका रुपमा ग्रहण गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रेस स्वतन्त्रताको दुरुपयोग नगर्न आग्रह गर्दै काउन्सिलले मिडिया अनुगमनलाई थप सशक्त बनाउने बताए ।

सातै प्रदेशमा काउन्सिलका इकाई गठन हुने र प्रदेश तहबाटै सेवा प्रवाह हुनेमा पनि उहाँले जोड दिए ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले आचारसंहिता पालनामा खेलबाड गर्न नहुने बताउँदै आचारसंहिता पत्रकारको महत्वपूर्ण औजार हो भने ।

उनले आचारसंहिता पालनामा सम्बन्धित निकायले पनि कडाइ गर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकार आचारसंहिता पालनालाई प्रवर्धन गर्न काउन्सिलले देशव्यापी रुपमा जागरण अभियान चलाएको उल्लेख गर्दै आचारसंहिता पालनामा पत्रकार पहिलो जिम्मेवार पात्र भएको धारणा व्यक्त गरे ।

“पत्रकार, सञ्चार संस्था, राज्यका निकाय सबै जिम्मेवार भए पत्रकारिता क्षेत्रका विकृति रोक्न सकिन्छ,” उनले भने ।

पत्रकार टीकाराम राईले पत्रकारले आचारसंहिता उल्लंघन गर्नै नहुने बताउँदै व्यावसायिक पत्रकारका लागि आचारसंहिता गायत्री मन्त्र, यसलाई पूर्णरुपमा पालना गर्नुपर्छ भने ।

सञ्चारमा भएको प्रविधिगत विकासले पत्रकारका सामुु थप चुनौती र अवसर दुवै खडा भएको पनि उनले बताए ।