अन्तर्राष्ट्रिय

ब्रेक्सिटसम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

पेरिस । बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गरेका छन् । युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उनले फ्रान्सका राष्ट्रपति इमान्यूएल म्याँक्रोसँग शिष्टाचार भेटवार्ता गर्न लाग्नु भएको हो ।

उनीहरुबीच ब्रेगानकोनमा दुई घण्टा अनौपचारिक भेटवार्ता हुनेछ । “फ्रान्सेली राष्ट्रपतिहरुको गृष्मकालीन निवासका रुपमा ब्रेगानकोन चर्चित छ, र हाल इटालीमा छुट्टी मनाइरहेकी बेलायती प्रधानमन्त्री थेरेसा मेलाई यहाँ स्वागत गर्ने योजना बनाइएको हो,” स्रोतले बतायो ।

प्रधानमन्त्री मे ले ब्रेक्सिट वार्ताका बारेमा लन्डनको अवधारणा र युरोपेली यूनियनसँगको भावी सम्बन्धका बारेमा धारणा राख्नु हुनेछ । स्रोतका अनुसार, यस प्रस्तावका बारेमा स्पष्ट गर्ने यो अवसर हो र उनीहरुबीच राजनीतिक सन्दर्भका बारेमा पनि छलफल हुनेछ ।

युरोपेली राष्ट्रहरुको दबाब थेरेसा मेमाथि लगातार चुलिदो छ । खासगरी गत महिनामात्र आफ्नै मन्त्रिपरिषदका दुईजनाले राजीनामा दिएपछि सङ्कट गहिरिएको हो । प्रधानमन्त्री थेरेसामाथि सन् २०१९ मार्च २९ बाट बेलायत र युरोपेली यूनियन अलग्ग हुने सम्झौताको कार्यान्वयन गर्नैपर्ने चुनौती छ र यो समयावधि आउन अब केही महिना मात्र बाँकी छ । आगामी अक्टोबरको मध्यसम्ममा आयोजना हुने युरोपेली शिखर बैठकको मध्य सम्ममा एउटा सैद्धान्तिक सहमति खोजीसक्नु पर्नेछ ।

प्रधानमन्त्री थेरेसाले आयरल्यान्डसँग दोहोरो कर प्रणालीको प्रस्तावलाई अघि सार्नु भएको छ । प्रस्ताव अनुसार, आइरिस सीमामा उठाइने राजश्वलाई दुवै देशको हितमा प्रयोग गरिने छ । युरोपेली यूनियनका तर्फबाट आयरल्यान्डका लागि ब्रेक्सिट वार्ताकारका रुपमा खटाइएका मिसेल बार्नियरले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् ।

तर दुई नेताबीचको छलफलमा बार्नियरलाई हटाउने विषयमा छलफल नहुने स्रोतले बताएको छ ।

युरोपेली नेताहरु बार्नियरको पक्षमा खुलेरै बोलिरहेका छन् जसले एक लेख प्रकाशित गरी बेलायत र युरोपेली यूनियनबीच “बाहिरिने पक्षमा ८० प्रतिशत सम्झौता भइसकेको” बताएका छन् । जर्मन र फ्रान्सेली भाषामा प्रकाशित सो लेखमा उनले “तर ८० प्रतिशत भनेको १०० प्रतिशत त होइन” भनी चेतावनी पनि दिए ।

फ्रान्सले ब्रेक्सिट सम्झौताका सन्दर्भमा कडा विचार राखिआएको छ, खासगरी वित्तीय सेवाका क्षेत्रमा । मुख्य बैंकिङ इकाईहरु लन्डनबाट पलायन भएमा त्यसबाट सिर्जना हुने करिब ३,५०० नयाँ बैंकिङ रोजगारी फ्रान्स आउने अपेक्षा फ्रान्सले गरिरहेको छ ।

अन्य क्षेत्रका कम्पनीहरुले पनि बेलायत छाड्ने सम्भावना रहेको चेतावनी दिइरहेका छन् जसले युरोपका अन्य मुलुकलाई आर्थिक रुपमा निकै फाइदा पुग्नेछ ।