शिक्षा

दयनीय अवस्थामा नेपालको पहिलो पुस्तकालय

ललितपुर । भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयका पुस्तक तीन ठाउँमा रहेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताए । कालोपुलस्थित महेन्द्र भवन माध्यामिक विद्यालय, सानोथिमिस्थित शैक्षिक जनशक्ति विकास केन्द्र र पुस्तकालयको बाल शाखामा पुस्तक राखिएको छ । विद्यालयमा ५० हजार पुस्तक थन्क्याइएको छ । उनले भने, “किताब बिग्रन नपाओस भनेर सुरक्षितरुपमा राखेका छौँ ।”

जनशक्ति विकास केन्द्रमा २३ हजार हाराहारी र बाल शाखामा सात हजार पुस्तक छन् । ती पुस्तक भूकम्प आउँदाको वर्षमा बोरामा नै थन्क्याइएकोमा हाल ¥याकमा राखिएको छ ।

बालशाखा भवन जीर्ण अवस्थामा छ । अधिकृत श्रेष्ठले भने, “वर्षामा पानी चुहिएर हैरान छौँ ।” यहाँका प्रशासनिक काम सञ्चालन र बाँकी पुस्तक व्यवस्थापनमा समेत जीर्ण भवनका कारण कठीन छ ।

भूकम्प पहिले दैनिक १०० बढी पाठक अध्ययन गर्न आउनेमा अहिले १०/१२ जना आउँछन् । यहाँ आउने कतिपय पाठकले विद्यालयमा वा सानोथिमिमा भएका पुस्तक खोज्न आउँदा फर्काउनुपर्ने अवस्था छ ।

विद्यालयको लामो छुट्टिका समयमा खचाखच विद्यार्थी हुने गरेकामा अहिले पुस्तकालय सुनसान बन्दै गएको छ । देशभरका पुस्तकालयको समन्वय र अनुगमनको कामसमेत पुस्तकालयको दयनीय अवस्थाका कारण प्रभावित बनेको छ । हाल वर्षमा दुई/तीन पुस्तकालयको अनुगमन हुने गर्छ । सरकारले पुस्तकालयका लागि छुट्याउने बजेटसमेत कटौती गरेको छ ।

बाल शाखामा थोरै पुस्तक छ । भएको पुस्तक मिसिएको पाठकले गुनासो गर्छन् । पहिले फरक विषयसम्बन्धी पुस्तक छुट्टाछुट्टै ¥याकमा थियो । अधिकृत श्रेष्ठ भन्छन्, “यसले गर्दा पाठकलाई चाहेको पुस्तक सजिलै खोज्न र पढ्न पाउँदैनन् ।” भएका पुस्तकमा समयसमयमा औषधि हालेर बिग्रन दिइएको छैन ।

भूमिगत पार्किङसहित पाँच फरक निकाय रहने गरेर हरिहर भवन निर्माणको खाका बनेको छ । उनी भन्छन्, “नक्सा बनेको लामो समय हुँदासमेत भत्काउन थालिएको छैन ।” अस्थायी टहरामा पुस्तकालय सार्न बाल शाखा अगाडिको आयोगको जग्गा मागिएको छ ।

हरिहर भवनमा राष्ट्रिय मानव अधिकार आयोग, निजामती कर्मचारी किताबखाना र पुस्तकालय गरेर तीन निकायको कार्यालय थियो । भूकम्पले भवन क्षतिग्रस्त बन्यो । तर तीन वर्ष बित्दासमेत भवन बनाउन थालिएको छैन । कहिले कहाँ त कहिले कहाँ भवन निर्माण गर्ने छलफल चलिरहेको छ । शिक्षा मन्त्रालयको स्वामित्वको जमलस्थित जग्गामा निर्माण गर्नेबारेमा छलफल चले पनि त्यसमा सहमति भएन ।

पुस्तकालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको सहकार्यमा देशभरका पुस्तकालयको तथ्यांक संकलन, प्रकाशन, घुम्ती पुस्तकालय सञ्चालन, तालीम र बाल साहित्य प्रकाशनलगायतका काम गर्दै आएको थियो ।

नेपालमा करीब हजार सामुदायिक पुस्तकालय र विद्यालयमा आधारित १२ हजार बढी पुस्तकालय रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।

विसं २०१३ मा राजगुरु हेमराज पाण्डेको निजी पुस्तक खरिद गरेर राष्ट्रिय पुस्तकालयको स्थापना भएको थियो । सिंहदरबारमा रहेको सिक्री ढोका भवनबाट पुस्तकालय शुरु भएको पाइन्छ । सिंहदरबारमा नै रहेको केन्द्रीय सचिवालयका पुस्तकालय यहीँ गाभियो । विसं २०१७ मा यहाँ ल्याइएको यो शुरुमा सन्दर्भ पुस्तकालयका रुपमा रहेकोमा २०१८ देखि सर्वसाधारणका लागि खुला भएको हो ।