बाग्मती

खेलाडीलाई पोषणको आवश्यकता

काठमाडौँ । नियमित स्वास्थ्य परीक्षण, उपयुक्त तालीम र सन्तुलित आहार खेलाडीका लागि अति आवश्यक मानिन्छ । खेल खेल्नुअघि र पछि के कस्ता खानेकुरा खाने, कति समयसम्म अभ्यास गर्नेलगायत विषयमा खेलाडी जानकार हुनुपर्छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) का पोषण विशेषज्ञ केपी लम्साल नेपालमा खेलकूद प्रतियोगिताको दौरान मात्र खेलाडी खानेकुरामा सजक हुने गरेका बताउँछन् । “अरु बेला खेलाडी आफ्नो स्वास्थ्यबारे गम्भीर भएको पाइन्न,” उनले भने।

नेपालमा खेलाडीलाई तालीम सँगसँगै पोषणको कमी भएकोे लम्साल बताउँछन् । पर्याप्त तालीम, इच्छाशक्तिका साथै पोषणयुक्त खानेकुराको ख्याल गरेमा अन्तराष्ट्रियस्तरका खेल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट नतिजा ल्याउन सक्ने उनले बताए ।

नेपाली खेलाडी हाल एसियाली खेलकूद प्रतियोगिताको तयारीमा जुटेका छन् । उनीहरुले दैनिक रु एक हजार ५०० भत्ता पाउँछन् । सोही रकमबाट खेलाडीले होटलमा बस्ने, खाने तथा दिनको दुई पटक अभ्यास गरिरहेका छन् ।

कराते खेलका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ राज्यले खेलाडीलाई उपलब्ध गराउँदै आएको भत्ता थोरै भएको बताउँछन् । “खेलाडीले घरबाट पैसो माग्नुपर्ने बाध्यता छ,” उनी भन्छन्, “पर्याप्त पोषणयुक्त खानेकुरा नपाएपछि खेल प्रदर्शनमा असर पुग्छ ।”

सरकारले खेलाडीलाई गत असारसम्म दैनिक रु एक हजार ४०० भत्ता उपलब्ध गराउँदै आएको थियो । यही साउनदेखि लागू हुने गरी रु एक सय भत्ता बढाएको छ ।

राखेपका सदस्य सचिव केशवकुमार विष्ट एसियाली खेलकूदका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई सरकारले दिँदै आएको दैनिक भक्ता अपुग भएको बताउँछन् । उनले भने, “सरकारले दिएको रकम पर्याप्त छैन, सरकारसँग बजेट माग गरेका छौँ, सुनवाई भएको छैन ।”

आगामी भदौ २ गतेदेखि इन्डोनेसियामा आयोजना हुने १८औँ एसियाली खेलकूद प्रतियोगिताका लागि हाल २९ खेलका १८५ खेलाडी बन्द प्रशिक्षणमा छन् ।