बाग्मती

चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग

नुवाकोट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।

पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो । पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टी गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन् ।

झोलुंगे पुलबाट वारपार गरेर सवारी साधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताए ।

झण्डै सय मिटर सडक पहिरोले पुरिएको छ भने पहिरोमाथि खेतको पानी आएका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन समस्या भएको हो । पहिरो माथिबाट आएको पानीलाई बाँध बाँधी अन्यत्र तर्काएर पहिरो पन्छाउने काम गरिए पनि पहिरो खस्नेक्रम नरोकिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए ।

वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेंसी सडक खण्डको मनकामनामा पहिराका कारण ठूला सवारीसाधन रसुवा आउनजान समस्या भएको प्रहरीले जनाएको छ ।

चार वटा स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको वडाध्यक्ष गणेशकुमार नेपालले बताए।