कर्णाली प्रदेश

टेलिफोनको टावर माग्दै गाउँपालिका अध्यक्ष

जाजरकोट । सञ्चार सुविधाबाट वञ्चित बारेकोट गाउँपालिकाको तीन ठाउँमा नेपाल टेलिकम नमस्ते मोबाइलको टावर माग गर्दै गाउँपालिका अध्यक्ष काठमाडौँ पुगेका छन् ।

सञ्चारको भरपर्दो सुविधा नभएको बारेकोट गाउँपालिकाको काप्ती, सेरी र नायकबाडामा टावर निर्माणमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह टेलिकमको केन्द्रीय कार्यालय पुगेका हुन् ।

केही वर्षयता सञ्चार अभावले सास्ती झेल्दै आएका सेवाग्राहीले टावर निर्माणपछि नमस्ते मोबाइल सेवाको गुणस्तरीय सेवा उपभोग सहजरुपमा पाउनुपर्ने भन्दै केन्द्रीय कार्यालय पुगेको अध्यक्ष शाहले बताए। तीन स्थानमा टावर स्थापना गर्न एस्टर नेपाल प्रालिले ठेक्का लिएर सामग्री ढुवानी शुरु भएको नेपाल टेलिकमका प्रबन्धक अनन्तमान सिंहले जानकारी दिए ।

उनका अनुसार नायकबाडाको रतनकोटमा हाल सञ्चालनमा रहेको स्काइ मोबाइल सेवाको गुणस्तरलाई समेत अभिवृद्धि गरिनेछ । नयाँ निर्माण हुने टावर असोजदेखि सञ्चालनमा आउने छ । साविकको चार गाविसको बारेकोटमा सञ्चार सुविधाको नाममा रतनकोटमा रहेको एकमात्र स्काइ मोबाइलको टावरमा बारम्बार खराबी आइरहँदा सेवाग्राही मर्कामा छन् । घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा जाने समस्याले आजित भएका बारेकोटका सेवाग्राहीले यी टावर बनेपछि राहत पाउने गाउँपालिकाका अध्यक्ष शाहले बताए ।

बारेकोटमा सञ्चार सुविधा पु¥याउन यसअघि सञ्चार मन्त्रालय, नेपाल टेलिकमलगायतका निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गुनासो छ । “अब ढिलै भए पनि बारेकोटका बासिन्दाले भरपर्दो सञ्चार सेवा तथा डाटा प्रयोग गर्न पाउने आशा छ”, उनले भने । बारेकोटमा टेलिकमको तीन वटा टावर निर्माण गर्ने हालका वनमन्त्री शक्तिबहादुर बस्नेतको चुनावी नारासमेत थियो । चुनावी नारा पूरा हुन थालेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । जिल्लाका अन्य ठाउँमा टेलिफोन टावर विस्तार गर्न स्थानीयको माग छ ।