गण्डकी प्रदेश

विपन्नका छाना फेर्दै वडा

बागलुङ । काठखोला गाउँपालिका–७ का खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई वडा कार्यालयले सुरक्षित छानोमुनी ल्याउन लागेको हो ।

आउँदो दुई वर्षभित्र खरले छाएका सबै घरमा जस्तापाताको छानो राखिने कार्यालयले जनाएको छ । विपन्न, एकल महिला र दलित समुदायको खरको घर विस्थापन गर्ने योजनामा वडा कार्यालय छ । वडाअध्यक्ष प्रेम लामिछानेका अनुसार गत आवमा १४ वटा घर जस्तापाताले छाइएको थियो ।

अहिले थप ३० खरले छाएका घरमा एकैसाथ जस्तापाता राख्ने काम शुरु भएको छ । बहत्तर विपन्न परिवारका घर पहिचान गरी स्थानीयसँग मिलेर जस्तापाताले छानो छाउने काम गरिएको वडाअध्यक्ष लामिछानेले बताए । वडाले आगामी आवमा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

“खरको छानोमुनी बस्न बाध्य परिवारलाई सुरक्षित छानोमा ल्याउँदैछौं” वडाअध्यक्ष लामिछानेले भने । जस्तापाता खरिद र ढुवानीमा वडा कार्यालय आफैँले लगानी गरेको छ भने जस्तापाता फेर्न गाउँलेले पनि सघाएका छन् ।

आर्थिक विपन्नताका कारण छानो फेर्न नसकेका परिवारलाई वडा कार्यालय साहारा बनेको छ । जस्तापाताको छानोले बास सुरक्षित हुने भएपछि वडावासी पनि खुशी छन् ।