कृषि

चरनक्षेत्र जोगाउन चिउरी रोप्दै किसान

रत्ननगर । मौरीको चरनक्षेत्र जोगाउन मौरीपालक किसानले चिउरीका विरुवा रोप्न थालेका छन् ।  भण्डारास्थित मौरीपालन विकास कार्यालयले उत्पादन गरेको विरुवा विभिन्न जिल्लाका किसानले लगेर रोपेको कार्यालय प्रमुख शिव रिजालले जानकारी दिए ।

उनका अनुसार भण्डाराबाट अहिलेसम्म किसानले ३४ हजार चिउरीका विरुवा लगिसकेका छन् । किसानले दाङमा १० हजार चितवनमा पाँच हजार, मकवानपुरमा पाँच हजार, रौतहटमा तीन हजार, सर्लाहीमा पाँच हजार, बाँकेमा दुई हजार ५००, भक्तपुरमा तीन हजार विरुवा वितरण भएको कार्यालयकोे तथ्यांकमा उल्लेख छ ।

रुपन्देहीलगायत विभिन्न जिल्लाका किसानले छुट्टाछुट्टै रुपमा ५० हजार १०० चिउरीका विरुवा लगेर रोपको कार्यालयका प्राविधिक सहायक बाबुराम पन्तले बताए ।

अधिकांश मौरीपालक किसानले स्थानीय पहाडी क्षेत्रका सामुदायिक वनसँग सहकार्य गरेर चिउरीका विरुवा रोपेको नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए ।

चितवनको चेपाङ गाउँ सिद्धिको बटौली सामुदायिक वनलगायत क्षेत्रमा मौरीपालक किसानको सहभागितामा वृक्षारोपण भइसकेको उनको भनाइ थियो। सो वृक्षारोपणमा चेपाङको समेत सहभागिता थियो ।

मह उत्पादनका लागि चिउरीको रस महत्वपूर्ण मानिन्छ । चिउरीको मह औषधिको रुपमा समेत प्रयोग हुने भएकाले उभोक्ताले बढी मन पराउँछन् । पछिल्लो समयमा मौरीको चरनक्षेत्र नास हुँदै गएकाले चरनक्षेत्र जोगाउन यसरी चिउरी रोप्न थालिएको सम्बद्ध किसानले बताए । राज्यले नै नीति ल्याएर चरनक्षेत्र जोगाउनुपर्ने उनीहरुको धारणा थियो ।

चरनक्षेत्र जोगाउन नसके मौरीपालन नै प्रभावित हुने भएकाले कार्यालयले विरुवा वितरण थालेको उक्त कार्यालय प्रमुख शिव रिजालले बताए ।

नेपाल मौरीपालक संघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले पछिल्लो समयमा खेतीबालीमा बढ्दो विषादीका कारण मौरीको चरन प्रभावित भएको र उचित संरक्षण नहुँदा प्राकृतिकरुपमा रहेका चरन क्षेत्रसमेत घट्दो क्रममा रहेको बताए ।

नेपालका पाँच हजार बढी मौरीपालक किसानले करीब दुई हजार चार सय मेट्रिकटन मह उत्पादन गर्छन् । चितवनमा करीब आठ सय मेट्रिकटन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघले जनाएको छ ।

चितवनमा विसं २०५१ बाट मौरीपालन शुरु भएको हो । अहिले ३५० भन्दा बढी किसान मौरीपालन व्यवसायमा लागेका छन् । विशेष गरी मेलिफेरा मौरी व्यावसायिकरुपमा पालिन्छ । नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख बढी गोला रहेको अनुमान छ ।