स्वास्थ्य

सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारीमा छ : उपप्रधानमन्त्री यादव

जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले सरकार आधारभूत स्वास्थ्य नीति निर्माणको तयारी गरिरहेको बताएका छन्।

जनकपुर अञ्चल अस्पतालद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले चिकित्सकहरू काठमाडौँ केन्द्रित हुने मनोविज्ञान परिवर्तन हुनुपर्छ भने ।

विगतमा भएका नीतिगत गल्तीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा नपरेको चर्चा गर्दै उपप्रधानमन्त्री यादवले सङ्घीय संरचनाअनुरूपको आधारभूत स्वास्थ्य नीतिले विगतका गल्ती र प्रवृत्तिमा सुधार ल्याउने धारणा राखे ।

असी प्रतिशत जनता गाउँमा वस्ने तर ९० प्रतिशत चिकित्सक शहरमा बस्ने अवस्थाले पनि स्वास्थ्य सेवा जनस्तरमा पुग्न नसकेको प्रसंग उल्लेख गर्दै उनले चिकित्सकहरूले आफ्नो जन्म थलो, क्षेत्र, जिल्लामा सेवा गर्ने वातावरण निर्माण गरिने बताए । उपप्रधानमन्त्री मन्त्री यादवले जनकपुरधामको अस्पताललाई प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा विकास गर्ने पहल सबैबाट हुनुपर्ने खाँचो औँल्याए ।

आगामी दिनमा प्रदेश सरकार मात्र केन्द्रमा निर्भर रहने प्रवृत्ति त्याग्नु आवश्यक छ भन्दै उनले जनकपुर अस्पतालको सेवा विस्तार सन्दर्भमा एउटै परिसरमा नरही शंकायअनुरूपको विस्तारका लागि विभिन्न स्थानमा जग्गाको व्यवस्थापन र छनौट गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आवश्यकताअनुसार स्वास्थ्य नीति निर्माणका लागि सरकार तयार रहेको बताए । समाजिक विकास मन्त्री नवलकिशोर साहले संक्रमण कालका कारण अपेक्षाअनुरूप स्वास्थ्य सेवा विस्तार, सहयोग हुन नसकेको धारणा राए ।

जनकपुर अस्पताल प्रमुख डा रामपरीक्षण यादवले अस्पतालको समस्या, सुधार तथा समस्याका विषयमा उपप्रधानमन्त्रीलाई जानकारी गराए ।