खेलकुद

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल हुने

काठमाडौँ । नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकारी दिनेशकुमार सिंहबीच प्रतियोगिता आयोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

१० वर्षसम्म कायम हुने सम्झौताअनुसार प्रतियोगिता आयोजनाको सम्पूर्ण जिम्मेवारी आधीआवाधीको हुनेछ । यससँगै प्रतियोगिता सञ्चालनका लागि आधाआवाधीले प्रायोजक समेत आफैं खोज्नेछ । फाउण्डेसनले नेपाल भलिबल संघलाई प्रत्यक वर्ष १५ लाख समेत प्रदान गर्नेछ ।

कार्यक्रममा प्रमुख कार्यकरी सिंहले रु आठ लाखको चेक संघलाई हस्तान्तरण गरे ।

सम्झौताअनुसार प्रतियोगिताको विजेताले रु छ लाख पाउनेछन् भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु एक लाख ५० हजार हात पार्नेछन् । भलिबलमा यो अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार हो ।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान टिभिएस स्कुटर र रु ५० हजार पाउनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित छ टोलीको सहभागिता रहनेछ ।

नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबसँगै चितवन टाइग्रेस, काठमाडौँ क्वीन्स र पोखरा पिन्केजले प्रतियोगितामा सहभागी हुने नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

कार्यक्रममा प्रमुख कार्यकारी सिंहले प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधारको व्यवस्था समेत गरिदिने आश्वासन दिए ।

आधाआवाधीका नेपाल संयोजक सूर्य गुरुङले राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलको समेत मर्मतसम्हार गरिदिइने प्रतिवद्धता व्यक्त गरे ।