अन्तर्राष्ट्रिय

क्यालिफोर्निया डढेलोबाट एक हजार घर नष्ट

लस एन्जलस, संयुक्तराज्य अमेरिका । क्यालिफोर्नियाको जङ्गलको केही भागमा लागेको डढेलो दू्रत गतिमा सहरतर्फ फैलिएपछि एक हजारभन्दा बढी घर जलेर नष्ट भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

डढेलोका कारण विस्थापित केही व्यक्तिलाई घर फर्किन मिल्ने भन्दै सरकारले अनुमति दिए पनि पुनः नयाँ आगलागी सुरु भएको थियो । क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले पत्रकार सम्मलेनमा आगलागी नियन्त्रण गर्नका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाइएको बताए।

हरेक वर्ष दोहोरिने गरेको आगलागी समस्याको समाधानका लागि अग्नि नियन्त्रकहरुलाई नयाँनयाँ तरिका सिकाइए पनि आगलागीलाई नियन्त्रणमा ल्याउन भइरहेको कठिनाइबाट आफू आश्चर्यचकित भएको ब्राउनले बताए ।

आगलागी नियन्त्रणका लागि यस वर्ष छुट्याइएको बजेटको एक चौथाई खर्च भइसकेको पनि उनले बताए। आगलागी नियन्त्रणका लागि करिब १२ करोड ५० लाख अमेरिकी डलर बजेट रहेको ‘क्यालिफोर्निया डिपार्टमेन्ट अफ फोरेस्ट्री एण्ड प्रोटेक्सन’का प्रवक्ता माइक मोलरले बताए ।

क्यालिफोर्नियाका अग्नि नियन्त्रकका अनुसार पुनः सुरु भएको नयाँ आगलागीमा परी गोदाम सहित ४८८ घर नष्ट भएको छ । क्यालिफोर्नियाको इतिहासमा यो छैटौं भीषण आगलागी हो ।

गत जुलाई २३ देखि सुरु भएको यस आगलागीमा परी ६ जनाको मृत्यु भएको र ३८ हजारलाई सुरक्षित स्थानमा सारिएको छ । साथै एक लाख २१ हजार एकड जमीन आगलागीबाट नष्ट भएको बताइएको छ ।