अन्तर्राष्ट्रिय

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पुष्टि

मस्को । यसै हप्ता सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिएका रुसी पत्रकारलाई यातना नदिइएको पाइएको रुसले जानकारी दिएको छ ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा रहेको रुसी दूतावासलाई बिहीबार सो जानकारी गराइएको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखरोभले बताए ।
गत सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा समाचार सङ्कलनका क्रममा तीन जना रुसी पत्रकार मारिएका थिए । उक्त देश पछिल्लो समयमा द्वन्द्वमा फसेको छ ।
मारिएका तीन रुसी पत्रकारमा किरिल राडचेन्खो, अलेक्जेन्डर राष्ट्रोगुएभ र अर्खान जेमाल रहेका छन् । उनीहरु द्वन्द्वग्रस्त उक्त देशमा समाचार सङ्कलनका क्रममा मारिएको बताइएको छ ।
उनीहरुलाई यातना दिएर हत्या गरेको हुनसक्ने आशङ्का रुसले गरेको थियो । तर सेन्ट्रल अफ्रिकन रिपब्लिकका स्थानीय चिकित्सकले ती पत्रकारको शव परीक्षणबाट उनीहरुलाई कुनै यातना दिइएको नपाइएको र उनीहरुको शरीरमा गोली लागेको मात्र पाइएको बताएका छन् ।
ती पत्रकारले उक्त देशका वागनर ग्रुप नामको एक सशस्त्र समूहको समाचार सङ्कलन गरिरहेका थिए । उक्त समूहलाई रुसको छायाँ सैन्यका रुपमा पनि लिने गरिन्छ ।
बुधबार उक्त देशका अधिकारीहरुले दिएको जानकारी अनुसार रुसका ती तीन जना पत्रकारलाई नौ जनाको सशस्त्र समूहले गोली हानेर हत्या गरेको जानकारी पनि गराएका छन् ।
सेन्ट्रल अफ्रिकन रिपब्लिक सरकारका प्रवक्ता एन्ज म्याक्सिम काजागुइले हत्यामा संलग्न ती सशस्त्र समूहका सदस्यले उक्त देशमा बोलिने साङ्गो र फ्रान्सेली भाषा बोल्न नजान्ने पाइएको जानकारी दिए।
प्रवक्ता काजागुइले ती तीन जना पत्रकारमध्ये एकजनाले उक्त समूहका एकजना सशस्त्र लडाकूको हतियार खोस्न खोजेको र सोही क्रममा हतियारधारीले गाली हानेर हत्या गरेको पाइएको जानकारी पनि दिए ।
तीनजनामध्ये एकजनाको सोही क्रममा घटनास्थलमा नै मृत्यु भएको र अरु दुई जनाको भने शरीरमा रहेको घाउका कारण पछि अस्पतालमा नै निधन भएको उनीहरुका सवारी चालकले जानकारी दिएको पनि प्रवक्ता काजागुइले जानकारी दिए ।
गम्भीर घाइते ती सवारी चालकको पनि उपचार भइरहेको बताइएको छ ।
यस हत्याकाण्डको अनुसन्धानका सेन्ट्रल अफ्रिकन रिपब्लिकका अधिकारी र त्यहाँ रहेको संयुक्त राष्ट्रसंघीय मिसनका प्रतिनिधि समेत सम्मिलित एक समिति निर्माण गरिने भएको पनि बताइएको छ ।