लुम्बिनी

प्रदेश नं ५ मा दुई विधेयक पेश

बुटवल । प्रदेश नं ५ को प्रदेश सभाको बैठकमा आज दुई विधेयक पेश भएका छन् । प्रदेश नं ५ प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक र प्रदेश नं ५ अन्तर्गतका गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियासम्बन्धी ऐन, २०७५ संशोधन गर्न बनेको विधेयक बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरे ।

सो अवसरमा दुवै विधेयकका केही धारा निलम्वन गरियोस् भन्ने प्रस्ताव नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले गरे । उनले गरेको प्रस्ताव सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको थियो ।

त्यस्तै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सँग सम्बन्धित प्रदेश मामिला तथा कानून समितिको प्रतिवेदन समितिका ज्येष्ठ प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रस्तुत गरे । मन्त्री केसीले प्रदेश सभाको विशेष समयमा उठेका विभिन्न विषयवस्तुको जवाफ दिएका थिए ।