समाचार

महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनीहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद पार्वत गुरुङले सांसद निरुदेवी पालमाथि भएको हमलाप्रति दुःख व्यक्त गर्दै त्यसविरुद्ध सत्ता पक्ष र प्रतिपक्षका सबै सांसद एकजुट हुनुपर्ने बताए ।

सांसद सुजाता परियारले दलित समुदायका उच्च शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गर्नाका साथै आयमूलक काम सिकाउँदै आएको उत्पीडित समुदाय उत्थान विकास समिति बजेट र नीतिमा समेटिन नसकेको भन्दै गुनासो गरे । साथै उनले सांसद निरुदेवी पालमाथि हमला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरे ।

सांसद आशाकुमारी विकले पछिल्लो समयमा ७ नं प्रदेशमा महिला माथिका जघन्य अपराधका घटना बढेको तथ्यांक प्रस्तुत गर्दै सुरक्षित रुपमा बाच्न पाउने वतावरण बनाउन सरकारसँग माग गरे ।

सांसद विमला विश्वकर्माले दलित विकास समितिलाई निष्क्रिय बनाउँदा दलित विद्यार्थीका लागि छात्रवृत्ति कटौती भएको भन्दै दलित विद्यार्थीको उच्च शिक्षाका लागि वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद पवित्रा निरौला खरेलले सरकारले औलो उन्मूलनका लागि वर्षौंदेखि ठूलो धनराशि खर्च गरे पनि औलो उन्मूलन हुन नसकेकाले बर्सातका समयमा थप होसियार हुन सरोकारवाला सरकारी निकायको ध्यानाकर्षण गराए ।

सांसद पार्वती बिशंखेले जुम्लाको विरोध गाउँपालिका जनप्रतिनिधिले नै अर्को जनप्रतिनिधिले छोएको चिया नखाएको घटनाका सम्बन्धमा जानकारी गराउँदै छुवाछूत व्यवहार गर्नेलाई कानूनअनुसार कारवाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद दुर्गाकुमारी विश्वकर्माले मणिपाल अस्पतालले सरकारलाई बुझाउनुपर्ने रु नौ करोड राजश्व हालसम्म पनि बुझाउन आनाकानी गरेको र स्वास्थ्य बीमा अन्तर्गतको औषधिको व्यवस्था पनि नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद टेकबहादुर बस्नेतले संविधान जारी भएको तीन वर्ष पुग्न लाग्दा पनि अझै कतिपय मौलिक हकसम्बन्धी कानून बनाउने काम बाँकी नै रहेको भन्दै यस सम्बनधमा सरकारको तयारी के छ सदनलाई जानकारी गराउनुपर्ने बताए ।

सांसद अञ्जना विशंखेले कलंकी थानकोट बाटोको तत्काल सुधार गरी यातायातमा सहजता बनाउन र महिला माथिका हिंसाका घटना बढेकामा सुरक्षा व्यवस्था चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद पालमाथि भएको आक्रमणबारे सदनलाई जानकारी

बैठकमा सत्तारूढ दल नेकपाकी सांसद निरुदेवी पालले यही साउन १५ गते राति ८ः१५ बजे आफूमाथि मध्य बानेश्वरमा आक्रमणको प्रयास भएको जानकारी दिए ।

उनले दूध लिने क्रममा कोठाबाट पसल गएर फर्कंदै गर्दा छेडो बाटोमा रहेको एक व्यक्तिले छेकेर पेस्तोल देखाई तर्साउन खोजिए पनि दुर्घटना हुनबाट आफू जोगिएको बताए ।

उनले भने, “रेनकोट लगाएको उक्त व्यक्तिले सुनुवाइ समितिको भोलिको बैठकमा भाग लिइस् भने प्रधानमन्त्रीले पनि बचाउन सक्दैन भनेर धम्की दिएको र आफूले यस घटनालाई पृथक ढंगबाट हेरेको छु ।” प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सांसद निरुदेवी पालमाथि भएको घटनाको निन्दा र भत्र्सना गरे ।

उनले भने, “यो घटनाको छानबिनका लागि समिति गठन गरियोस्, हामी सबै सांसद असुरक्षाको घेरामा छौँ, सांसदको सुरक्षा दिन नसक्ने सरकारले आम जनताको सुरक्षा दिन सक्दैन भन्ने कुरा पुष्टि भएको छ । सरकारले जनतालाई मूल्य वृद्धिको उपहारबाहेक अरूलाई केही दिन सकेको छैन ।”

सांसद अतहर कमाल मुसलमानले राजधानीमा सांसद नै सुरक्षित भएको महशुस गर्न सक्दैन भने जनता कसरी सुरक्षित होलान भन्दै यसबारे गृहमन्त्रीको जवाफ आउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले भने, “सरकारले सबै सांसदलाई सुरक्षाकर्मी उपलब्ध गराउन सक्छ कि सक्दैन, सक्दैन भने एक दुई जनालाई उपलब्ध गराउनुको के अर्थ रहन्छ, सरकारले आम जनतालाई सुरक्षाको उचित प्रबन्ध गर्न सकोस् ।” सांसद हृृदयेश त्रिपाठीले सांसद निरुदेवी पालमाथि भएको घटनाप्रति दुःख व्यक्त गरे ।