अन्तर्राष्ट्रिय

मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन

हरारे । जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् ।

संसदको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणा लगत्तै हरारेका मुख्य स्थानहरुमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ, र वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरुले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् ।

गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरु छिचोल्दै सैनिक टैंक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरुले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ ।

बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपर सहित हरारेका मुख्य सहरी इलाकाहरुमा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार, गोली लागेर तीनजनाको मृत्यु भएको छ ।

“अहिले त परिस्थिति बिल्कुलै भिन्न छ ।” ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन् । “सोमबार मानिसहरु ज्यादै खुशी थिए । आज, उनीहरु निराश छन् । यहाँ कहिले शान्ति आउला ?”

अधिकारीहरुले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् जसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबूबाहिरको परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकार बिरोधी भेला र प्रदर्शन रोक्न यही कानुनलाई बारम्बार प्रयोग गरिन्थ्यो ।

राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षीहरु दोषी रहेको बताएका छन् । उनले निर्वाचन प्रक्रियामा अबरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताए ।

तर विपक्षीहरुले सुरक्षा निकायहरुले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरुको आरोप छ । “के हामी युद्धको स्थितिमा छौं रु के नागरिकहरु राज्यका दुश्मन हुन् ?” मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गरे ।

संयुक्त राष्ट्रसंघका उप–प्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चुनाव तुलनात्मक रुपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् । हिंसा र अनियमितताको शिकार हुने गरेको विगतको तुलनामा यस पटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरुको भनाइ छ ।

“राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाई हुन्छ निर्वाचन प्रक्रियामा आम जनताको विश्वास त्यति कमजोर हुँदै जान्छ,” अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्व लाइबेरियन नेता एलेन जोन्सन सरलेफले बताए ।