पर्यटन/संस्कृति

६ वटा विमान किन्न ५ अर्ब माग्न निगम सरकारको ढोकामा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले एकैपटक ६ वटा ट्वीनअटर विमान किन्ने इच्छा जाहेर गरेको छ । एकैपटक सो संख्यामा विमान किन्नका लागि निगमले सरकारसँग ५ अर्ब रुपियाँ माग गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन आग्रह गरेको छ ।

स्रोतका अनुसार जहाज किन्न सरकारसँग मागिएको ५ अर्बको प्रस्ताव पयर्टन मन्त्रालय हुदैँ अर्थ मन्त्रालय पुगेको छ । यसपछि मन्त्रिपरिषद्मा पुगेर सो प्रस्ताव पास गर्ने कि नगर्ने भन्ने बिषयमा छलफल हुनेछ । त्यसैअनुसार अहिले निगमका लागि ६ वटा नयाँ विमान किन्नका लागि प्रक्रिया अघि बढेको छ । पर्यटनमन्त्री अधिकारीले आफ्नो सय दिने कार्ययोजनामा समेत ६ अटा ट्वीनअटर विमान किन्न स्वीकृति दिने बताएका थिए ।

निगमको चुक्तापूँजी २० अर्ब पुर्‍याउन सरकारसमक्ष उक्त प्रस्ताव गरिएको महाप्रवन्धक सुगतरत्न कंशाकारले बताए । उनले अहिले कम्पनिको ३६ करोडको हाराहारीमा चुक्तापुृजी रहेको बताए । ठूलो कम्पनिले थोरै वित्तिय कारोबार गर्दा जोखिम बढी हुने कारणले सो प्रस्तावसहितको प्रक्रिया अघि बढाईएको महाप्रबन्धक कंशाकारले बताए ।