शिक्षा

मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

भक्तपुर । मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् ।

ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भएका विद्यार्थी अध्ययनरत विद्यागृहलाई ५०० लिटरको पानी ट्यांकी एक, पानी तान्ने मेशिन एक र कक्षा कोठामा राख्ने डस्टबिन पाँच थान बुधबार सहयोग गरेको हो ।

ग्ल्याडस्टोनका प्रधानाध्यापक विनोदकुमार कोइरालाले विद्यागृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितलाई सो सामग्री हस्तान्तरण गरे । ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभई सामाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि समाहित हुँदै आएको सन्दर्भमा विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेको प्रधानाध्यापक कोइरालाले बताए ।

विसं २०६९ को प्रवेशिका परीक्षामा छात्रातर्फ नेपाल प्रथम र २०७० सालको प्रवेशिका परीक्षामा दोस्रो स्थान हासिल गरेको ग्ल्याडस्टोनले ब्रिटिश सरकार र नेपाल सरकारले संयुक्तरूपमा प्रदान गर्ने इन्टरनेशनल स्कूल अवार्ड दुई पटक पाएको छ ।

पछिल्लो पटक सन् २०१६ देखि २०१९ सम्मको लागि अवार्ड प्राप्त गरेपछि ग्ल्याडस्टोनले सामाजिक कार्य योजनाका लागि गत जेठ २० गते शिक्षक सविन श्रेष्ठको संयोजकत्व र विद्यार्थी करिना घजुको अध्यक्षतामा स्टुडेन्ट काउन्सिल गठन गरेको थियो ।