बाग्मती

पुल मर्मतको सामग्री रोकियो

रसुवा । पहिरोका कारण निर्माण सामग्री रोकिएपछि टिमुरे घट्टेखोलाको पुल मर्मत कार्य स्थगित भएको छ ।

रसुवाको सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार गत ११ गते गर्ने टिमुरेस्थित घट्टेखोलाको पक्की पुल वर्षाका कारण जगमा क्षति पुगेको र मर्मतका लागि ल्याइएका निर्माण सामग्री बेत्रावती–त्रिशूलीबीच भैंसे भन्ने ठाउँमा सडक अवरुद्ध हुँदा निर्माण सामग्री रोकिएपछि पुल मर्मतमा ढिलाइ भएको हो ।

गल्छी–त्रिशूली–स्याफ्रुबेँसी सडक सुधार आयोजनाकाअनुसार भैंसेको पहिरो पन्छाउने कार्य तीब्ररुपमा अगाडि बढिरहेको र पूर्णरुपमा सडक सञ्चलान गर्न नसकिए पनि आंशिकरुपमा एक दुई दिनभित्रै सञ्चालन गरिने जनाइएको छ । पहिरो पूर्णरुपमा पन्छाउन केही समय लाग्ने जनाइएको छ ।
सडक अवरुद्ध भएपछि विशेषगरी मानसरोवर जाने भारतीय तीर्थयात्रीलाई समस्या परेको छ । दैनिकरुपमा भन्सार, राजश्व सरदर रु। एक करोड नोक्सानी हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।