अन्तर्राष्ट्रिय

कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

सिओल  । घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ ।

कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८१४ अर्ब डलर (९१३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट (५८ खर्च वन) हो ।

कोरियाको पहिलो नम्बरमा रहेको कम्पनी सामसुङ ग्रुपको बजार मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने दोस्रो ठूलो कम्पनी हुन्डाई मोटर ग्रुपको बजार मूल्य ६.७ प्रतिशतले घटेको छ । तेस्रो ठूलो कम्पनी एसके ग्रुपको भने यस अवधिमा २.२ प्रतिशतको झिनो वृद्धि देखिएको छ । एलजी ग्रुपको बजार मूल्यमा १२.८ प्रतिशतले कमी आएको छ ।

सेयर बजारका विश्लेषकहरुले संयुक्तराज्य अमेरिका र चीनबीच चर्किदै गएको व्यापारिक द्वन्द्वका कारण दक्षिण कोरियाली कम्पनीको सेयर मूल्यमा नकारात्मक प्रभाव परेको बताएका छन् । कोरियाली कम्पनीको मूख्य बजार र व्यापारिक साझेदार नै यी दुई मुलुक रहेकाले पनि सेयर बजार ओरालो लागेको अनुमान गरिएको हो ।

प्रचण्ड गर्मीका कारण खाद्यान्नको मूल्य बढ्यो 

दक्षिण कोरियामा पछिल्लो समयको प्रचण्ड गर्मीका कारण कृषि उपजको मूल्यमा भारी वृद्धि भएको सरकारी अधिकारीहरुले बताएका छन् । गत महिनाको तुलनामा कृषि उत्पादनको थोक मूल्यमा ६.५ प्रतिशतले वृद्धि भएको कृषि, खाद्यान्न तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।

बन्दा र मूलाजस्ता तरकारीको मूल्य आकासिएको छ, र औसतमा यस्तो मूल्यमा ५० प्रतिशतभन्दा बढी भएको छ ।

कोरियाली मौसम विज्ञान विभागका अनुसार, बुधबार दिउँसोको तापक्रम ४०.३ डिग्री सेल्सियससम्म रेकर्ड गरिएको छ र यो सन् १९०७ यताकै सबैभन्दा उच्च हो ।