पु.समाचार

नक्कली बिल बनाउनेविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बिल भर्पाई बनाइ सरकारी रकम हिनामिना गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले आज सो कार्यमा संलग्न भोजपुरको साविकको दुम्माना गाविसका तत्कालीन गाविस सचिव राजेन्द्र विश्वकर्मा, आदिवासी जनजाति विकास कार्यक्रम उपभोक्ता समिति दुम्मानाका सचिव बमबहादुर श्रेष्ठ र अध्यक्ष सुन्दरकुमार मगरविरुद्ध आरोपपत्र दायर गरेको हो ।

उनीहरुले ज्येष्ठ नागरिक सम्मान तथा अभिनन्दन कार्यक्रम, भुजेल सशक्तीकरण कार्यक्रम, अपांग सचेतना कार्यक्रम र नेवार भाषा संस्कृति उत्थान कार्यक्रमका लागि विनियोजित बजेट नक्कली बिल भर्पाई बनाइ सरकारी रकम हिनामिना गरेको आयोगले जनाएको छ ।

आयोगले कसुर गरेको पुष्टि हुन आएकाले उनीहरुमध्ये विश्वकर्मालाई रु ८६ हजार ८७५ र श्रेष्ठ तथा मगरलाई जनही रु छ लाख ५४ हजार ४१७ बिगो मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।