खेलकुद

साना किसानले ब्याज फिर्ता पाए

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् ।

नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणीलाई आज रु तीन लाख ५० हजार बराबरको ६० प्रतिशत ब्याज फिर्ता गरिएको हो ।

अधिकतम दुई लाखसम्म ऋण लिएर स्वरोजगार कार्यक्रममा लगानी गरेका यहाँका किसानले कम्तीमा रु पाँच हजारदेखि बढीमा २५ हजारसम्म ब्याज फिर्ता पाएका सहकारीकी व्यवस्थापक रीतु वाइवाले जानकारी दिए ।

उनका अनुसार कोषबाट सहकारीले अघिल्लो वर्ष ४५ लाख रकम ल्याएर यहाँका ४३ जना साना किसानलाई स्वरोजगार कार्यक्रममा लगानी गरेको थियो । त्यसमध्ये असल ऋणी ३५ जनाले ६० प्रतिशत ब्याज फिर्ता पाएका हुन् । आज रत्ननगरको बछौलीमा एक कार्यक्रमबीच किसानलाई ब्याज अनुदान रकम वितरण गरिएको थियो ।

सहकारीकी सदस्य कल्पना घिमिरेले रु दुई लाख ऋण लिएर गाईपालन गरेका थिए । अहिले गाईपालन फस्टाएकाले आफू स्वरोजगारसमेत भएको र आज रु २५ हजार फिर्ता पाउँदा खुशी लागेको उनले बताए ।

कोषबाट अघिल्लो वर्ष ४५ लाख ल्याएर लगानी गरेको उक्त सहकारीले १५० प्रशित रकम वृद्धि गरी चालू आवका लागि रु ६५ लाख ल्याएर ४१ जना किसानलाई लगानी गरेको सहकारीका अध्यक्ष कृष्णप्रसाद खतिवडाले जानकारी दिए ।

नयाँ ऋण लिएका सहकारीका सदस्य बालकृष्ण चापागार्इं अहिले ब्याज फिर्ता पाए झैँ आगामी वर्ष आफूले पनि ब्याज फिर्ता पाउने गरी असल ऋणी बन्ने प्रतिबद्धता जनाए । सहकारीका सदस्यहरुले गाईपालन, मौरीपालन, हस्तकला, सजावटका सामान बनाउने, फेन्सी व्यवसाय र माछापालनमा लगानी गरेका छन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका चितवन जिल्ला प्रतिनिधि रामचन्द्र लम्सालले कोषमार्फत यसअघि चितवनका १५ सहकारीमा रु २० करोड लगानी गरेको र चालू आवमा १८ वटा सहकारीमा रु सात करोड लगानी भएको जानकारी दिए ।

सो क्रममा रत्ननगर नगरपालिकाका वडाध्यक्षत्रय राजन भट्ट, बलराम दाहाल र कृष्ण महत्तो तथा स्थानीय वासु ढुंगानाले साना किसानलाई स्वरोजगार हुने अवसर प्रदान गरेकामा सहकारी र युवा स्वरोजगार कोषको प्रशंसा गरे ।

मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारीको पूँजी रु १२ करोड रहेको छ । सहकारीले हालसम्म रु २० करोड ऋण लगानी गरेको जनाइएको छ । सहकारीमा तीन हजार १०० सदस्य छन् ।