सुदूरपश्चिम

प्रदेश नं. ७ प्रदेशसभा सदस्यद्वारा समसामयिक विषयमा ध्यानाकर्षण

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभा सदस्यले समसामयिक विषयमा सभा र सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय जनता पार्टीका मालामतीकुमारी रानाथारुले प्रदेश नं ७ को राजधानी रहने स्थान र नामाकरणका विषयमा गठन गरिएको विशेष समितिमा राजपाको प्रतिनिधित्व नगराइएकोप्रति आपत्ति जनाउँदै उक्त समितिमा राजपाको प्रतिनिधित्व गराउन माग गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मानबहादुर धामीले प्रदेश सरकारले आकस्मिक कोष विधेयक ल्याएको लामो समय भइसक्दा पनि यससम्बन्धी कार्यविधि निर्माणमा भइरहेको ढिलाइले प्राकृतिक प्रकोपबाट पीडित दार्चुलाका जनतालाई राहत उपलब्ध गराउन ढिलाइ भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै छिटो कार्यविधि बनाइ राहत वितरण गर्नुपर्ने बताए ।

यसपछि सभामुख अर्जुनबहादुर थापाले विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीलाई सात दिनभित्र जवाफ दिन ‘रुलिङ’ गरे ।

बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्था गर्न बनेको विधेयक २०७५ टेबुल गरे ।

प्रदेशसभाको अर्को बैठक साउन २१ गते अपराह्न १ बजे बस्नेछ ।