अन्तर्राष्ट्रिय

जिम्बाबे निर्वाचनः सत्तारुढ दल जानु–पिएफको अग्रता

हरारे । जिम्बाबेको निर्वाचन आयोगले मङ्गलबार राति सार्वजनिक गरेको मतगणनाको ताजा विवरण अनुसार सत्तारुढ पार्टी जिम्बाबे अफ्रिकन नेसनल युनियन–प्याट्रिओटिक फ्रन्ट (जानु–पिएफ) ले संसदमा अग्रता बनाएको छ । राष्ट्रिय सभाका घोषित ४८ स्थानमध्ये जानु–पिएफले ३६ स्थानमा विजय हासिल गरेको छ ।

विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) को गठबन्धनले ११ स्थान र नेसनल पेट्रिओटिक फ्रन्ट (एनपीएफ) ले एक स्थान जितेको छ ।

आयोगले कूल २१० स्थान रहेको राष्ट्रिय सभामा बुधबारसम्म १६२ स्थानको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

तर राष्ट्रपतिको निर्वाचनको मतपरिणाम भने मुलुकभरको मतगणना समाप्त भएपछि मात्र घोषणा गरिने आयोगले बताएको छ । राष्ट्रपतिमा सत्तारुढ दल जानु–पिएफका नेता एवं वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा र एमडीसीका नेता नेल्सन चामिसा चुनावी मैदानमा छन् ।

कानुन अनुसार, निर्वाचन आयोगले शनिबारभित्रै निर्वाचन परिणाम घोषणा गर्नुपर्नेछ । जिम्बाबेमा कूल ५६ लाख मतदाता रहेका छन् । उनीहरुले गत सोमबार एकैसाथ राष्ट्रपति र राष्ट्रिय सभाका लागि मतदान गरेका थिए । पूर्व राष्ट्रपति रोबर्ट मुगाबे गतवर्ष सैनिकद्वारा सत्ताच्यूत भएपछि पहिलोपटक यो निर्वाचन भएको हो ।