आर्थिक

तीनखम्बे अर्थनीतिका आधारमा मुलुकलाई समृद्ध बनाउनेः मन्त्री विष्ट

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले ल्याएको तीनखम्बे अर्थनीतिका आधारमा टेकेर मुलुकलाई समृद्ध बनाउने बताएका छन् ।

जिल्ला सहकारी संघ मोरङद्वारा यहाँ आज आयोजित ‘सहकारीमार्फत रोजगारी सिर्जना’ विषयक प्रदेश नं १ स्तरीय अन्तरकृया कार्यक्रमको उद्घाटन गर्दै उहाँले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा मुलुकलाई समृद्ध बनाउने बताएका हुन् ।

मन्त्री विष्टले धेरै ठूलो जनसंख्या आबद्ध रहेका सहकारीको समस्या समाधान गरी थप व्यवस्थित बनाउन सरकारले आवश्य छलफल गरिरहेको चर्चा गर्दै सहकारीलाई बलियो बनाउनका लागि यसमा पारदर्शी र विश्वशनीयता आवश्यक छ भने ।

काम र जनशक्तिको तारतम्य नमिलेको अवस्थामा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको र यसको माध्यमबाट वर्षेनी करीब पाँच लाख युवालाई रोजगार प्रदान गर्ने बताउँदै उहाँले नेपाललाई आत्मनिर्भर बनाउन सबै सम्भावनाको उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री विष्टले व्यापार घाटा कम गर्न तथा रोजगार सिर्जना गर्नका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्छ भन्दै छरिएर रहेका पूँजीलाई एकीकृत गर्न सहकारीको महत्व निकै छ बताए ।

रोजगारी सिर्जना गर्न चुनौती रहे पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले छोटो समयमै कार्य क्षमता बढाउन र रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले सहकारी सदस्यले उठाएको समस्या समाधान गर्न सरकार गम्भीर छ भने ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले तीन तहको ऐनको अभ्यास भइरहेको हाम्रो मुलुकमा श्रम ऐन पनि परिमार्जन हुने बताउँदै तीनखम्बे नीतिका आधारमा सहकारीले ऋण र बचतमा मात्र सीमित नभई उत्पादनतर्फ पनि ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले सहकारीको महत्वमाथि प्रकाश पारे ।