पु.समाचार

युवाको उमेर पाँच बर्ष घटाइदैँ

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए ।

उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ऐनमा युवाको उमेर १६–४० वर्ष रहेको छ । नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकूद मन्त्रालयमा मस्यौदा पेश गरिएको छ । “१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्” उनले भने– “त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो ।”

संयुक्त राष्ट्र संघको मापदण्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ । अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन् । यसैगरी परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ ।

संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ÷नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी दिए ।

उनले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो । अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन् ।