समाचार

ब्लडमनी तिर्न नसक्दा साउदीमा प्रशान्त विचल्लीमा, सहयोगको लागि अपिल !

काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुगे ।

रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुगेका उनी त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै हुनुहुन्थ्यो तर काम लागेको नौ महिना नबित्दै उनले चलाएको गाडीको पछाडिको चक्कामा त्यहाँका बासिन्दाले चलाइरहेको गाडी ठोकिँदा घटनास्थलमा नै तिनको मृत्यु भयो । पीडित लिम्बू भन्छन्, “नेपालमा सवारी लाइसेन्स नलिई नै साउदी पुगेको थिएँ । नेपालबाट लाइसेन्स बनिनसक्दै साउदीको भिसा लागेपछि म यता आइहालेँ,” उहाँ थप्नुहुन्छ, “यता आएर लामो समय रोजगारदाता कम्पनीलाई लाइसेन्सका लागि प्रक्रिया अघि बढाउन आग्रह गरे पनि लाइसेन्स बनाइदिएनन् ।”

चालक इजाजतपत्र नभए पनि आफूलाई गाडी चलाउन बाध्य पारिएको र घटनापछि कम्पनीले आफूलाई उल्टै दोषी ठह¥याएको दुखेसो उनले पोखे । भरिएको गाडी गन्तव्यतिर गइरहेका अवस्थामा पछाडिबाट त्यहाँका स्थानीयवासीको सानो गाडीमा ठोकिएर तिनको मृत्यु भएको थियो । त्यसपछि अरबको रियादस्थित मसाल भन्ने कारागारमा उहाँलाई आठ महीनासम्म राखिएको र अदालतको फैसलापछि विसं २०७३ पुस २७ मा कारावासमुक्त गरिएको थियो ।

पुसमा लिम्बू कारागारमुक्त हुनु भए पनि कम्पनीले दुई महिनासम्म काम गरेको तलब उपलब्ध गराएको छैन । तलब माग्दा उल्टै गाली गर्ने र धम्काउने गरेको र खान–बस्न समेत नदिएपछि लिम्बू कम्पनीबाट बाहिर जान बाध्य भएका थिए । पछि विभिन्न गैरसरकारी संस्थाको सम्पर्कमा आएपछि नेपाली दूतावासले लिम्बूको कम्पनीमा भ्रमण गरी कुराकानी गरेपछि हाल रोजगारदाता कम्पनीमा उहाँले मेशिन अपरेटरका रुपमा काम गर्दै आएका छन् ।

कारागारबाट मुक्त भएपछि नै पीडित नेपाल फर्कन चाहेको तर ब्लडमनीवापतको रु ४० लाख रकम चुक्ता नगरिसकेकाले उक्त रकम जुटाउन परिवारलाई उनले आग्रह गर्नुभएको पीडितकी श्रीमती कमलाले बताए । “उहाँको क्षतिपूर्ति ९ब्लडमनी० वापतको रकम तिर्न सक्ने क्षमता परिवारको छैन, त्यसैले हामीले विभिन्न सरोकारवाला कम्पनीसँग आग्रह गरिरहेका छौँ”, कमलाले भने ।

रोजगारदाता संस्थाविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दर्ता गरे पनि त्यसको सुनुवाइ नभएको जानकारी दिँदै उहाँले विभाग नै रोजगारदाता संस्थाको संरक्षणमा रहेको आरोप लगाए । हाल पीडितको सहयोगका लागि उनको परिवार विभिन्न निकायमा धाइरहेकोे छ ।

विदेशमा कारागार परेकाका लागि काम गर्दै आएको कन्सुलर विभागलाई साउदीस्थित नेपाली दूतावासले लेखेको पत्रमा “दुर्घटनापश्चात् उक्त मुद्दा अदालती प्रक्रियामा गएको थियो र अदालतको फैसलानुसार निज लिम्बूको ७५ प्रतिशत गल्ती देखाई निजले ब्लडमनीवापत साउदी रियाल दुई लाख १५ हजार तिर्नुपर्ने एवं त्यसै दुर्घटनामा एउटा कार पनि क्षति भएकाले क्षतिपूर्तिवापत साउदी रियाल १५ हजार तिर्नुपर्ने गरी १५ मे २०१८ मा अदालतबाट फैसला भएको थियो । उक्त ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम निज लिम्बू र बाँकी आधा रकम कम्पनीले तिर्नुपर्ने” उल्लेख छ ।

उक्त घटनाका बारेमा विभागमा जानकारी भएपछि विभागमार्फत विदेशमा समस्यालाई परेकालाई सहयोग गर्दै आएको संस्था ‘प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी)’ लाई जानकारी गराई पीडित परिवारलाई सम्पर्कमा ल्याइएको थियो । ब्लडमनी संकलनका लागि पिएनसिसीले लिम्बूको सहयोगका लागि आह्वानसमेत गरेको छ । ब्लडमनीका लागि सहयोग गर्न ग्लोबल आइएमई बैंकको खाता नं ३९०१०१०००००४०९ मा समितिको अनामनगर शाखाको सिफ्ट कोड नम्बरमा जम्मा गरिदिनसमेत पिएनसिसीले आग्रह गरेको छ ।

एउटा देशले अर्को देशको सजायवापत सहयोग गर्न नपाउने भन्ने नेपाल सरकारले भन्दै आएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । पिएनसिसीमार्फत पीडितको उद्धारका लागि किराँत याक्थुम चुम्लुङ, नेपाल जनजाति महासंघ, गैरआवासीय नेपाली संघ र नेपाली दूतावाससँग निरन्तर समन्वय भइरहेको छ ।

उक्त संस्थामार्फत विदेशी कारावासमा परेका तथा विदेशमा ब्लडमनी तिर्नुपर्ने सजाय पाएकाको लागि सहयोग गर्दै आउनुभएका काभ्रे सेवा समाज र नेपाली सेवा समाजका अध्यक्ष रामप्रसाद सापकोटाले पीडित लिम्बूलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आउनुभएको छ । साउदीमा २० वर्षदेखि काम गर्दै आउनुभएका उहाँले कम्पनी राम्रो छ भन्दैमा नेपाली कामदार झट्ट विश्वास गरेर गइहाल्न नहुने बताउनुभयो । उहाँले साउदीमा पुगेका नेपालीमध्ये पाँचदेखि १० प्रतिशतले कानूनी झमेला ब्येहोर्ने गरेको जानकारी दिनुभयो । “विदेश जान लागेका नेपालीका लागि जानुपूर्व उक्त कम्पनी कस्तो छ भन्ने जानकारी दूतावासले दिन सके त्यस्ता खालका समस्या कम हुने थियो,” सापकोटाले भन्नुभयो ।