समाचार

आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा

काठमाडौं । नेपालका आदिवासीहरुले यस वर्ष पनि आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाउने घोषणा गरेका छन् ।

नेपालका आदिवासी जनजातिको नेतृत्व संस्था नेपाल आदिवासी जनजाति महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस वर्ष २४औं विश्व आदिवासी दिवस पनि आन्दोलनकै रुपमा मनाउने घोषणा गरेको हो ।

महासंघले घोषणा गरेको विश्व आदिवासी दिवस लक्षित विविध कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासी जानजातिको पहिचान सुनिश्चित गर्न माग गरिने बताइएको छ ।

संविधान संशोधनको माग गर्दै आएको महासंघले विश्व आदिवासीवासी दिवसको सन्दर्भमा साउन १९ र २० गते काठमाडौंमा ‘आदिवासी जनजाति वृहत राष्ट्रिय राजनीतिक सम्मेलन’ गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

जुन कार्यक्रममार्फत संविधान संशोधन गर्दै आदिवासीको पहिचान सुनिश्चित गर्न नयाँ राजनीतिक बाटो तय हुने महासंघले अपेक्षा गरेको छ ।

संविधान जारी हुने बेला छुट्टै आन्दोलन गरेको पद्यमरत्न तुलाधार नेतृत्वको ‘आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल’ले समेत यस वर्ष महासंघसँग सहकार्य गरेको विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले सार्वजनिक गरेको कार्यक्रम अनुसार तुलाधार नेतृत्वको समूहले ‘संघीयता कार्यान्वयन र जातिय सवाल’ विषयमा अन्तरकृया गर्ने बताइएको छ ।

महासंघको नेतृत्वमा आदिवासी जनजाति जन्य संघ संस्थाहरुले समेत विविध कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । विश्वभरका आदिवासीले हरेक वर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरेका छन् ।