प्रवास

एनआरएनए अमेरिका हेल्पडेस्कको  “विज्ञ फोरम – ४” सम्पन्न

काठमाडौं ।  यही जुलाई २९ तारिख आइतवार अमेरिकाको जर्जिया राज्याको अट्लान्टा सहरमास्थानीय नेपाली हिमालयन स्पाइस होटेलमा “एन.आर.एन.ए. अमेरिका हेल्पडेस्क” को “विज्ञ फोरम – ४” सम्पन्न भएको छ ।  “सार्वजनिक सुविधाहरु (मेडिकेयर, मेडिकेड, फूड-स्ट्याम्प, सुत्केरी/वाल-वालिका सुविधा)”  विषयमा सो सम्बन्धि विज्ञ डा. प्रणय राणा वक्ता रहेको उक्त कार्यक्रम “एन.आर.एन. जर्जिया च्याप्टर” अध्यक्ष सूर्य लम्सालको नेतृत्वमा “जर्जिया च्याप्टर”, “जर्जिया हेल्पडेस्क”, तथा “नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग)” सँगको सहकार्यमा सम्पन्न भएको थियो ।

कार्यक्रम “फेसबुक लाइभ” बाट प्रत्यक्ष प्रसारण गरिएको थियो I  कार्यक्रम उद्घाटन गर्दै जर्जिया च्याप्टरका अध्यक्ष सूर्य लम्सालले विज्ञ-वक्ता तथा उपस्थित सबैलाई धन्यवाद दिदै जर्जिया च्याप्टरले यस्ता कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरे ।

त्यसपछि बोल्दै “नेपाली सांस्कृतिक केन्द्र (एन.सी.सी.)” का अध्यक्ष र जर्जियाका जेष्ठ समाजसेवी डा. प्रल्हाद पन्तले जर्जियामा एउटा हिन्दु मन्दिर सहितको (पशुपतिनाथको मूर्ति सहितको) नेपाली वाल-वालिकाहरुलाई नेपाली भाषा-नृत्य सिकाउने, न्यून आय भएकाहरुलाई स्वास्थ्य क्लिनिक चलाउने, वैठक-सभा गर्ने, तथा विवाह/भोज/ब्रतबन्ध गर्न मिल्ने “नेपाली सांस्कृतिक भवन” बनाउने अभियानमा सबै जर्जियावासी तथा अमेरिकावासी नेपालीहरुलाई सहयोग गर्न आव्हान गरे ।

मूल कार्यक्रमको सुरुवात गर्दै विज्ञ-वक्ता डा. प्रणय राणाले पहिले मेडिकेड र मेडिकेयरबारे कुरा राखे । मेडिकेयर, मेडिकेड, फूड-स्ट्याम्प, इत्यादी कार्यक्रमको लागि नागरिक वा ग्रीन-कार्डको हकमा कम्तिमा ५ वर्ष अमेरिकामा बसेको हुनुपर्छ ।

मेडिकेड भनेको न्यून आय भएका परिवारहरुलाई तथा शारीरिक/मानसिक रूपले असक्तहरुलाई सहयोग गर्ने कार्यक्रम हो । मेडिकेयर भनेको ६५ वर्ष पार गरेका तथा कम्तिमा ४० क्वार्टर काम गरी मेडिकेड-मेडिकेयर राजस्व तिरेकाहरुलाई सहयोग गर्ने कार्यक्रम हो ।