समाचार

जैविक मार्गको सुरक्षार्थ राखिएका सिसी क्यामेरा किन गरिए बन्द ?

रत्ननगर । चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर) मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् ।

गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले आर्थिक अभावका कारण सबै क्यामेरा बन्द भएपछि वन्यजन्तुमा हुने क्षति रोक्ने काम चुनौतीपूर्ण बनेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्र टिकौलीमा नियन्त्रण कक्षा बनाएर जडान गरिएको सडक छेउको १० वटै सिसी क्यामेराले वर्षा लागेपछि राम्ररी काम गर्न सकेको छैन । साउनको ४ गतेबाट भने सबै क्यामेरा बन्द नै हुन पुगेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्रका सुवेदार माधव उप्रेती जेनतेन चल्दै आएको सिसी क्यामेरा पैसा नभएर मर्मत गर्न नसक्दा सबै बन्द भएको बताउछन् । “हामीलाई सञ्चालनका लागि बजेट आउँदैन, निकुञ्ज र तालले केही हेर्दैन, उप्रेतीले भन्नुभयो, वार्षिक ३५ हजार विद्युत्का लागि भनेर आउँछ कार्यालयकै विद्युत् तिर्न सकिरहेको छैन, सिसीलाई कसरी खर्च गर्नु ।”

करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगल निकुञ्जको चुरे र महाभारत पर्वत जोड्ने कोरिडोर हो । वन्यजन्तुको आवतजावत गर्ने क्षेत्र भएकाले पूर्व–पश्चिम गर्ने सवारीसाधनले हानेर वन्यजन्तु मर्ने क्रम बढेपछि निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको बताउनुहुन्छ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल ।

वर्षामा समस्या हुने भन्दै उनले निगरानी जारी रहेको प्रतिक्रिया दिए । सशस्त्र वन रक्षक नजिक भएकाले उसैलाई निगरानी गर्न भनिएको समेत उनी बताउछन् ।

दुई वर्षअघि तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा चितवन निकुञ्ज, जिल्ला वन कार्यालय र स्थानीय प्रशासनको पहलमा यहाँ सिसी क्यामेरा जडान गरिएको थियो ।

क्यामेराकै आधारमा प्रहरीले दुर्घटना गराएर भागेको गाडी समाउन सफल भएको थियो भने वन्यजन्तुलाई ठक्कर दिने पाँच÷छ वटा गाडी नियन्त्रणमा लिई कारबाहीसमेत गरिएको थियो । बीचमा पाँच÷छ वटा क्यामेरा नियमित सञ्चालनमा थियो ।

मुख्य राजमार्गको करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगलको राजमार्ग छेउमा क्यामेरा राखिएको थियो । सो क्षेत्रमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ चित्तल, बँदेललगायत ओहोरदोहोर गर्दै आएको छ । वर्षेनी यहाँ गाडीको ठक्करले चित्तल मर्ने गरेको छ । कमजोर निगरानी र सिसी क्यामेरा बन्द हुँदा भने अब सुरक्षा चुनौतीपूर्ण बनेको छ ।