समाचार

ट्राफिक कारबाहीबाट लाख उठ्यो

बेँसीशहर । आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।

जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो ।

सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । यस क्रममा तीन हजार २६५ मोटरसाइकल चालकलाई कारबाही गरिएको छ ।

ट्राफिक प्रहरीका अनुसार जिल्लामा दुई हजार ३२१ जिप/कार/भ्यान चालक, एक हजार २२७ ट्याक्टर चालक, एक हजार १३५ ट्रक चालक र ६२३ बस चालक कारबाहीमा परेका छन् । चारपांग्रे साना सवारीसाधनका चालकबाट रु १४ लाख २६ हजार, ट्याक्टर चालकबाट रु नौ लाख २२ हजार, ट्रक चालकबाट रु सात लाख र बस चालकबाट रु तीन लाख ५१ हजार राजश्व संकलन गरिएको छ ।

गत आवको तुलनामा रु नौ लाख १६ हजारभन्दा बढी राजश्व संकलन भएको छ । गत आवमा सात हजार ५०३ सवारीसाधनका चालकलाई कारबाही गरी रु ४६ लाख ९३ हजार राजश्व संकलन गरिएको थियो ।