कर्णाली प्रदेश

ज्येष्ठ नागरिकका लागि सेवाकेन्द्र

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१ धम्वोझीमा ज्येष्ठ नागरिकका लागि दिवा सेवाकेन्द्र सञ्चालन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालले रु १५ लाख ३७ हजारको लागतमा उक्त सेवाकेन्द्रको भवन निर्माण गरेको हो ।

सबै ज्येष्ठ नागरिकलाई दिउँसो फुर्सदको समय बिताउन र मनोरञ्जन लिन सहज होस भनेर सेवाकेन्द्र सञ्चालन गरेको स्वावलम्वी ज्येष्ठ नागरिक समाज नेपालका अध्यक्ष नरबहादुर हमालले बताए ।

सेवाकेन्द्र भवनको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले उद्घाटन गरे । उपप्रमुख उमा थापामगर र वडाध्यक्ष प्रमोद रिजालले सेवाकेन्द्रमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनको विभिन्न सुविधा उपलब्ध गराइने बताए ।