समाचार

पहाडीलाई ज्यान मार्ने धम्की दिनेको पहिचान गरी कारवाही गर्न माग

काठमाडौँ । प्रेस चौतारी नेपालले बुधबार साप्ताहिकका सम्पादक उज्ज्वल पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेको छ ।

आज प्रेस चौतारीका महासचिव राजेश राईले विज्ञप्ति जारी गर्दै अज्ञात व्यक्तिले दिएको ज्यान मार्ने धम्कीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्पादक पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा पछिल्लो दिनमा पत्रकारमाथि भौतिक आक्रमण र धम्कीका घटना बढेको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप तथा पत्रकारमाथि भइरहेका भौतिक आक्रमणका घटनालाई गम्भीरताको साथ लिएर निर्वाध समाचार संकलन तथा सम्प्रेषणको निम्ति वातावरण बनाउन सरकारसँग माग गरिएको छ ।

सम्पादक पहाडीलाई आज बिहान करीब १० बजे भक्तपुरबाट नयाँ बानेश्वरतर्फ आउने क्रममा जडीबुटीमा बा ७५ प ५१९ नं को बाइकमा सवार अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको जनाइएको छ । ती व्यक्तिले पहाडीलाई बाटोमा पटक–पटक अवरोध गर्दै सार्वजानिक गाली बेइज्यती गर्नुका साथै पहाडीको फोटो खिचेर जीउज्यानमाथि नै खतरा हुने धम्की दिएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका अध्यक्ष सन्तराम विडारीले पनि पत्रकार पहाडीलाई ज्यान मार्ने धम्की दिनेलाई कारबाहीको माग गरेका छन् ।