पर्यटन/संस्कृति

उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने

भक्तपुर । उपत्यकाका ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडौँ उपत्यकालाई पर्यटन परिपथ बनाएर जोड्ने भएका छन् ।

उपत्यकाका नगरपालिकाहरुको पर्यटन विकास र सांस्कृतिक धरोहरको संरक्षणका बारेमा भक्तपुर नगरपालिकामा भएको छलफलमा सहभागी नगर प्रमुखहरु उपत्यकाका नगरपालिकालाई पर्यटन परिपथका रुपमा विकास गरेर लैजाने बारेमा सहमत भएका हुन् ।

ऐतिहासिक धरोहर, सम्पदा र साँस्कृतिक नगरका रुपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई पर्यटनसँग जोड्ने सहमति भएसँगै पर्यटन परिपथ निर्माण हुने भएको हो ।

काठमाडौँ तथा ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाको अनुपातमा मध्यपुरथिमि नगरपालिका र कीर्तिपुर नगरपालिकामा पर्यटकको आगमन कम हुने गरेको छ । एउटा नगरपालिकामा आउने पर्यटकलाई अरू नगरपालिकामा जाने गरी वातावरण तयार पार्न सके उपत्यकाको पर्यटन विकाससँगै यहाँको सम्पदा र संस्कृतिलाई सधैँ जीवन्त राख्न सकिने निष्कर्षमा नगर प्रमुखहरु पुगेका छन् ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भक्तपुरको सम्पदा संरक्षण र शिक्षा क्षेत्रमा भएको प्रगति देखेर आफूहरु प्रभावित भएको बताए ।

उपत्यकाका सम्पदा संरक्षणमा मौलिकपन र एकरुपता ल्याएर पर्यटनसँग जोड्ने तथा उपत्यकालाई एकीकृत रुपमा विकास गरेर अगाडि बढाउन सहकार्य गर्ने अभियान सफल बनाउनुपर्ने कामपाका प्रमुख शाक्यले जोड दिए ।

उनले भने, “एक नगरपालिकामा आएका पर्यटकलाई अर्को नगरपालिकाको पर्यटकीय गन्तव्यसम्म पु¥याएर वृद्धि गर्न पर्यटक वृद्धि गर्न सकिन्छ, त्यसका लागि नगरपालिकाबीच समन्वय गर्ने सहमति भएको छ ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा र पर्यटकीय क्षेत्रको दृष्टिकोणले सबै नगरपालिकाको आ–आफ्नो ठाउँमा उत्तिकै महत्व रहेको बताउँदै पर्यटक तान्न समन्वय र थप कार्यक्रम बनाउनुपर्ने बताए ।

कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले कीर्तिपुर ऐतिहासिक र साँस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भए पनि पर्यटकको आगमन कम भएको अवस्थामा पर्यटकीय परिपथ बनाउन सके पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको सम्पदा संरक्षणको कार्य उपत्यकामा मात्रै नभई नेपालमै नमूनाका रुपमा रहेको छ भने । उनले सम्पदालाई पर्यटकसँग जोड्ने काम पनि नमूनाका रुपमा अगाडि बढेको बताए। भक्तपुर आएका पर्यटकमध्ये २० प्रतिशत पर्यटक मात्रै मध्यपुर थिमि लैजान सके पर्यटनको विकासमा योगदान पुग्ने धारणा उनले व्यक्त गरे ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय सरकार स्वायत र आत्मनिर्भर हुनुपर्ने बताउँदै स्थानीय सरकारको अधिकार खोसेर पुरातत्व विभागलाई दिन नहुनेमा जोड दिए।