उर्जा

ऊर्जामन्त्रीले भनेः हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा आज भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री पुनले नेपालमा नयाँ संविधान जारी भइसकेपछि स्थायित्वको युग शुरु भएको भन्दै इजरायली लगानीकर्तालाई ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरे ।

मन्त्री पुनले भने, “हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ, अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु ।”

उनले इजरायलसँग धेरै लामो कुटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गरे । लामो समयदेखि दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न सरकार इच्छुक रहेको धारणा राखे ।

भेटमा इजरायली राजदूत ओमेरले ऊर्जा र सिँचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताए । उनले ऊर्जामा लगानीको लागि इजरायलले साझेदार खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे।

‘नेपालको जलविद्युत्मा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी साझेदार खोजिरहेका छौ ।’ भेटमा राजदूत ओमेरले भने,“उहाँले निर्माण र हस्तान्तरण ढाँचामा काम गर्न इजरायल इच्छुक रहेको बताए ।”