अन्तर्राष्ट्रिय

पहिरोमा परेका २३ शव भेटिए

याङ्गुन । म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन् । अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए ।

काचिन राज्यको एक स्थानीय टेलिभिजन ‘७ डे न्यूज’ ले आइतबार साँझसम्ममा हराएकामध्ये २३ व्यक्तिको शव भेटिएको जनाएको छ । अरु चार जनाको खोजी भइरहेको छ । तर उनीहरुलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना भने नरहेको अधिकारीहरुले जनाएका छन् ।

उक्त राज्यको सेकी मुन भन्ने गाउँमा रहेको एक कम्पनीको वरिपरि लगाइएको ९१ मिटर अग्लो पर्खाल मङ्गलबार बिहान अकस्मात भत्किएर सो दुर्घटना भएको थियो । पर्खाल भत्किएसँगै गएको पहिरोमा परेर उक्त कम्पनीको नजिकको बस्तीमा रहेका स्थानीयलाई बगाएको थियो ।

म्यानमारको उक्त राज्य उत्तरतर्फ पर्छ र त्यो विशेषगरी खानी इलाका हो । सो इलाकामा मनसुनी वर्षाको समयमा पहिरोको निकै जोखिम हुने गर्दछ ।

उक्त क्षेत्रमा यही जुलाई १४ मा पनि दुई ओटा छुट्टाछुट्टै पहिरोमा परी कम्तीमा १७ जनाको ज्यान गएको थियो । त्यसमा परी अरु ४३ जना घाइते भएका थिए ।