बाग्मती

मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र निर्माण गरिने

चितवन । जिल्लामा रहेका पाँच रोटरी क्लबले भरतपुर महानगरपालिकाको सहकार्यमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र सञ्चालन गर्ने भएका छन् ।

भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाईमा रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ रत्ननगरले सो केन्द्र सञ्चालन गर्न लागेका हुन् ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालका अनुसार केन्द्र स्थापनाका लागि महानगरले जग्गा उपलब्ध गराउने भएको छ । करिव रू रु १५ करोड लागत अनुमान गरिएको सो केन्द्रका लागि स्थानीय स्रोत, रोटरियन र दाताको सहयोगमा भवन निर्माण गरिने छ भने आवश्यक उपकरण रोटरी इन्टरनेशनलको रोटरी फाउण्डेशन र अन्य दाताबाट लिइने छ । प्राविधिक क्षेत्रमा नेपाल स्पाइनल इञ्जुरी संघले सहयोग गर्ने भएको छ ।

अध्यक्ष खनालले पचास श्यायको उक्त केन्द्र सञ्चालनका लागि खर्च गर्नसक्ने बिरामीबाट पनि केही रकम लिने, त्यस्ता बिरामीका लागि सरकारले दिने रु एक लाख र अन्य स्रोत दाताबाटै सङ्कलन गरिने बताए।

महानगर प्रमुख रेनु दाहालले केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएर सहकार्य गरेको बताए ।

महानगरसंग भएको संझौताबमोजिम पाँच वर्षभित्र केन्द्र सञ्चालनमा आइसक्नुपर्ने सो केन्द्र ५० श्ययाको हुनुपर्ने, केन्द्र स्थापना र सञ्चालनको व्यवस्थापन रोटरी क्लबले गर्नुपर्ने, भौतिक संरचना निर्माणका क्रममा महानगरको निर्देशन पालना गर्नुपर्ने र यो केन्द्र सर्वसाधारणको हितसंग केन्द्रित हुनुपर्ने उल्लेख छ ।

नेपालमा नै पहिलो पटक भरतपुर महानगरमा पुनःस्थापना केन्द्र स्थापना हुँदा देशका सबै ठाउँबाट आएर बिरामीले उपचार गर्न सक्ने प्रमुख दाहालले विश्वास व्यक्त गरे।

केन्द्रका प्राविधिक संयोजक डा कृष्ण पौडेलकाअनुसार पक्षाघात भएका बिरामीको उपचारका लागि यो केन्द्र नेपालकै नमूना केन्द्र बन्ने छ । केन्द्रमा पुनःस्थापनासँगै ह्लिचियर चढ्ने तालीम, पौडी पोखरीमा हाइड्रोथेरापी, फिजियोथेरापी, व्यावसायिक तालीमलगायतका सुविधा दिइने छ । दुर्घटनाका घाइते, भिरबाट लडेका, रुखबाट खसेका, मधुमेह भएका, मेरुदण्डमा क्षयरोग र क्यान्सर भएका बिरामीका लागि केन्द्र महत्वपूर्ण हुने छ ।

उक्त केन्द्र निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार खर्च जुटाउनका लागि केही दाताको खोजी भइसकेकाले तीन वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने गरी काम अघि बढाइने छ । पाँचवर्ष अघि नै जिल्लाका रोटरी क्लबले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्न चाहे पनि जग्गाको अभावमा कार्य अघि बढेको थिएन ।

अस्पताल परिसरमा हाल १५ श्ययाको पक्षाघातका बिरामीको उपचार केन्द्र रोटरीको सहयोगमा सञ्चालन भइरहेको छ ।

मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा पक्षाघात भएका बिरामीलाई अन्य उपचारका लागि पनि सहज हुने भएपछि यहाँका रोटरी क्लबले केही वर्षयता केन्द्र स्थापनाका लागि पहल गर्दै आएका थिए ।